६ बैशाख २०८१, बिहिबार

इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी


जयवागेश्वरी पुनर्निर्माण

काठमाडौँ । नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् ।

लिच्छविकालीन मन्दिरमा आज बिहान पूजारी श्रीमद् राजोपाध्याय पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई गरी चार मूर्ति नपाइएपछि चोरी भएको थाहा पाइएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताउनुभयो । मन्दिरमा रहेका सुनचाँदी नहराएको तर पित्तल एवं ढलोटबाट बनेका राधा र कृष्णका साना चार मूर्ति चोरी भएका छन् ।

दुई तले मन्दिरको तल्लो तलामा इचङ्गुनारायणको मूर्ति छ । चोर मन्दिरको माथिल्लो तलाबाट छिरेको हुनसक्ने महानगरी प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

माथिल्लो तलाको ग्रील फोरेर तल्लो तलामा झरी मूर्ति चोरी गरिएको घटनाका विषयमा थप अनुसन्धान भइरहेको वृत्तका प्रहरी प्रमुख मिलन केसीले जानकारी दिनुभयो ।

मन्दिरमा रहेका सुन एवं चाँदीका माला भने त्यहीँ भेटिएको उहाँले बताउनुभयो । अहिलेसमेत तीन पटक मन्दिरबाट मूर्ति चोरी भएको स्थानीयवासी बताउँछन् ।

पहिलो पटक चोरी हँुदा चोर समातिएको थियो । दोस्रो पटक मूर्ति नभेटिएपछि नयाँ मूर्ति बनाएर राखिएको थियो । त्यसबेला मूर्तिसँगै मन्दिरका दुई टुँडाल पनि चोरी भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

भक्त वाइके पाण्डे र सूर्यमान श्रेष्ठले इचङ्गुनारायण मूर्तिको वरिपरी राख्ने गरी करीब आठ मूर्ति चढाउनुभएको थियो । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण मन्दिर भए पनि सुरक्षाको व्यवस्था हुन नसक्दा पटकपटक चोरी हुने गरेको स्थानीयवासी बताउँछन् ।

काठमाडौँ उपत्यकाका चार नारायणमध्येको कान्छो नारायणका रुपमा पूजिने इचङ्गुनारायणमा हरिशयनी एकादशी र हरिबोधनी एकादशीका दिन विशेष मेला लाग्छ ।

हरिशयनीदेखि हरिबोधनी एकादशीका चार महिनामा पनि मन्दिरमा धेरै भक्तजन आउने गरेकामा गत वर्ष र यसवर्ष भने कोरोना महामारीका कारण केही स्थानीय भक्तजनमात्र आउने गरेका छन् । महामारीका बीच पनि नित्य पूजा आराधना भने जारी रहेको पूजारी राजोपाध्यायले सुनाउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !