१३ बैशाख २०८१, बिहिबार

ऐतिहासिक ढोलठान दरबारसम्म पदमार्ग निर्माण


पदमार्ग

गलेश्वर । ऐतिहासिक पर्वत राज्यको राजधानी ढोलठानस्थित पर्यटकीय र पुरातात्विक महत्वले युक्त राजदरबार पुग्न अब सहज भएको छ । तत्कालीन पर्वते राजा घनश्याम मल्ल र उनका छोरा मलेबम मल्लको गर्मी यामको राजधानी ढोलठान दरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज भएको हो । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित ढोलठान दरबार पुग्नलाई वडा कार्यालयको लगानीमा सडक स्तरोन्नति, पदमार्ग र प्रतीक्षालय निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको हो ।

समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको ढोलठान दरबारलाई संरक्षण गरी ऐतिहासिक र पर्यटकीयस्थलका रूपमा विकास गर्न वडा कार्यालयले पूर्वाधार निर्माणमा जोड दिएको बेनी–९ का वडाध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो । उहाँका अनुसार चमच्चा डिलदेखि ढोलठानसम्म करिब ६०० मिटर पदमार्ग निर्माण गरिएपछि स्थानीयवासीलाई समेत आवातजावतमा सहज भएको छ । चालु आर्थिक वर्षमा वडाले सडक स्तरोन्नतिका लागि रु नौ लाख, पदमार्ग निर्माणका लागि रु चार लाख र प्रतीक्षालय बनाउन रु दुई लाख गरी कूल रु १५ लाखको लागतमा पूर्वाधार निर्माण गरेको वडाध्यक्ष चोखालले बताउनुभयो ।

कोरोना सङ्क्रमणको रोकथामका लागि जारी बन्दाबन्दीका कारण बेरोजगार बनेका स्थानीय युवालाई रोजगारी दिँदै वडाले तोरीपानीदेखि ढोलठान दरबार नजिक पुगेको सडकको स्तरोन्नति, पदमार्ग र प्रतीक्षालय निर्माण गरेको वडासदस्य भेषबहादुर सेनले बताउनुभयो । “कहिले राजा ढोलठाना, कहिले राजा बेनी’ म्याग्दीमा यो लोक कथन अझै पनि उत्तिकै प्रचलित छ । बाइसी, चौबीसी राज्यकालमा चौबीसी राज्यअन्तर्गतको ‘मलेबम प्रदेश’का नामले चिनिएको १६ हजार पर्वत राज्यको ग्रिष्मकालीन राजधानी ढोलठान ऐतिहासिक, सामरिक र पर्यटकीय सम्भावनाले पनि उत्तिकै महत्वपूर्ण रहेको जनकल्याण मावि पुलाचौरका शिक्षक शिव बानियाँले बताउनुभयो ।

विसं २०७७ को मदनपुरस्कार प्राप्त गर्न सफल साहित्यकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘महारानी’ उपन्यास तत्कालीन पर्वत राज्यको राजधानी ढोलठान र बेनीलाई नै आधारभूमि बनाएर लेखिएको हो । महारानी उपन्यास प्रकाशन भएपछि यस ठाउँको बारेमा जानकारी लिने र चासो राख्ने बढेका वडाध्यक्ष चोखालले बताउनुभयो । यहाँ तत्कालीन राजाहरुले पूजा गर्ने पुरातात्विक सम्पदासहितको पुरानो मन्दिर र विभिन्न हातहतियारसमेत रहेका छन् । यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरिसहितका दर्जनौँ हिमालको दृश्य र म्याग्दीसँगै पर्वत र बागलुङ जिल्लाका दर्जनाँै गाउँ अवलोकन गर्न सकिने स्थानीयवासी राजन चोखालले जानकारी दिनुभयो ।

समथर भूभाग, सिरसिर चल्ने चिसो हावा, तत्कालीन रानी बसेर ऐना हेर्दै कपाल कोर्ने स्थान (थुम्को), ऐतिहासिक मन्दिरको भग्नावशेषसमेत रहेकाले अवलोकनका लागि यहाँ आउने पर्यटक रमाउने गरेका स्थानीयवासीको भनाइ छ । पर्यटकले ऐतिहासिक ढोलठान दरबारको अवलोकनसँगै स्थानीय जैविक उत्पादनको खाजा खाना, विभिन्न जातजातिको कलासंस्कृति र गाउँले जीवनशैलीलगायत रैथाने जीवनशैलीको समेत अवलोकन गर्न पाउने वडासदस्य सेनले बताउनुभयो । म्याग्दीको सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत ४५ मिनेट र पैदल करिब तीन घण्टामा यहाँ पुग्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !