मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै Nepalpatra मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै
३१ बैशाख २०७८, शुक्रबार

मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै


जुडशीतल पर्व

महोत्तरी । मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरुवा पर्व भनी मनाउने गर्दछन् । दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।

चैत अन्त्यसँगै शुरु हुने जुडशीतल पर्वको तयारीले मैथिल (मिथिलाका बासिन्दा) व्यस्त भएका छन् । प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति) मा मनाइने पर्वको तयारी चैत मसान्तसँगै मिथिलामा देखिएको हो । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वको तयारीमा महोत्तरीसहितका प्रदेश–२ का मिथिला क्षेत्रमा जताततै बजारु चहलपहल ह्वात्तै बढेको छ ।

बढ्दो गर्मी र लगातार बड्दो तातो हावाबीच शुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मी समन गर्ने मान्यताभित्र खाइन्छन् । वैशाख सङ्क्रान्ति अर्थात नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व शुुरु हुन्छ ।

पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जांै, मकै, कागुनो, गहुँ, चामल र मुगसहित सातथरी खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरुलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् ।

पहिलो दिन सातु र सर्वत् दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । दोस्रो दिन (वैशाख–२ गते) घरपरिवारका श्रेष्ठ जनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिँदै यो पर्व सम्पन्न गरिन्छ ।

पर्वको दोस्रो दिन अर्थात वैैशाख–२ गते घरघरमा परिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिन्छन् । नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस्् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ ।

यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा रहेको महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस ( विद्यापिठ) का उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिल (मिथिलावासी) साथीसँगीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस्भन्ने कामना गरिन्छ ।

मिथिलामा सबै जाती समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा यो पर्व कृषिसँग सम्बन्धित रहेको पाका मैथिल बताउँछन् । बढ्दो गर्मीबीच ‘शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएको हुँदा यो पर्वलाई ‘जुडशीतल’ भनिएको मैथिल परम्परा र संस्कृतिका जानकार तथा साहित्य साधक महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा नेपाल सरकारका अवकास प्राप्त उपसचिव महेश्वर राय बताउनुहुन्छ ।

पर्वमा सहकाल (अनुकूल वर्षा र मौसम, अनिकाल व्याधिको प्रकोप नहुने) को कामना गरिने हुँदा यसको मुख्य सन्देश कृषिसँग सम्बन्धित रहेको रायको भनाइ छ । पर्वका लागि सामानको जोहो गर्नेको भिडले सबैजसो बजार भरिभराउ छन् । बजारमा तरुवा खाइने काँचो केरा, पर्व विशेषको खास तरकारी मुन्गा र जौको सातु तथा दलहनको वेसन (पिठो) को खुबै बिक्री बढेको व्यापारीले बताएका छन् । त्यसैगरी दही पनि पर्वको खास परिकार भएको हुँदा आम मैथिल आजै दूधको जोहोमा लागेका छन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !