७ बैशाख २०८१, शुक्रबार

हरिबोधनी एकादशी र यसको धार्मिक महत्व


हरिबोधनी एकादशी

काठमाडौँ । कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । हरिबोधिनी एकादशीलाई एक वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा मान्ने लौकिक परम्परा छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यो ठूलो एकादशीका नामले परिचित छ । यसै दिनबाट चतुर्मास पूरा हुन्छ ।

आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णु यसै दिन जागा हुनुहुने शास्त्रीय मान्यता छ । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने दिनका रूपमा लिइन्छ ।

एकादशीको दिन अन्न ग्रहण गर्नुलाई पाप मानिएको छ । सामान्यतया भगवान विष्णुलाई अक्षता चढाइँदैन । तसर्थ एकादशीका व्रत बस्नेले अन्न ग्रहण गर्दैनन् । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिनबाट भगवान विष्णु सुत्ने, हरिपरिवर्तनी एकादशीका दिन कोल्टो फेर्ने र हरिबोधनी एकादशीका दिन जागा हुने विश्वास गरिन्छ ।

भविष्य पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुन्छ । यसैअनुसार हिन्दू धर्मावलम्बीहरूले बिहानै नुवाईधुवाई गरी व्रत बसेर भगवान विष्णुको पूजाआराधना गर्छन् ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेष रुपमा मनाउने गरिन्छ । हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पिपल, दूबो र शालिग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिएको छ ।

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ ।

यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । भक्तजनलाई घरघरमै बसी नारायणको पूजा आराधना गर्न धर्मशास्त्रविद् र सम्बन्धित मन्दिर व्यवस्थापन समितिले आह्वान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !