४ बैशाख २०८१, मंगलबार

आँधीमूल मन्दिरमा प्रवेशमा रोक


रेसुङ्गा

तनहुँ । धार्मिक पर्यटकीयस्थलका रुपमा परिचित हुँदै आएको आँधीमूल मन्दिरमा दर्शनार्थीलाई पूर्ण रुपमा रोक लगाइएको छ । आँबुखैरेनी गाउँपालिकाको बैठकले निर्णय गरी वडा नं मा रहेको मन्दिर प्रवेशमा रोक लगाएको हो ।

यही मङ्ङिसर १० गते ठूलो एकादशीका दिन दर्शनार्थीको भीड लाग्न सक्ने सम्भावनालाई ध्यानमा राखी रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट सुरक्षित हुन अहिलेको वर्ष उक्त मन्दिर प्रवेशमा रोक लगाइएको हो । उहाँले भन्नुभयो, “उक्त दिन आँधीमूल मन्दिरमा दर्शन तथा मेलामा सहभागी हुन बन्देज गरिएको छ ।”

मानुङकोटमा प्रहरीचौकी राखिने

पर्यटकीयस्थल व्यास नगरपालिका–५ स्थित मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

मानुङकोटमा घुम्न आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखी मानुङकोट डाँडामा प्रहरीचौकी राख्ने योजना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सोही स्थानमा प्रहरीचौकी रहेका खण्डमा कुनै घटना भइहाल्यो भने तत्काल उद्धार गर्न सजिलो हुने र घटनापछि फरार हुने कार्यलाई न्यूनीकरण गर्न सकिन्छ ।”

उक्त स्थानमा प्रहरीचौकीको आवश्यक देखिएकाले गण्डकी प्रदेश प्रहरी कार्यालयमा माग गरिएको छ । स्वीकृत भएर आएपछि प्रहरी बस्ने भौतिक संरचनाका लागि भने सम्बन्धित निकायले व्यवस्था मिलाउनुपर्ने हुन्छ । दमौलीको चापाघाटदेखि करीब ६ किलोमिटर दूरीमा रहेको मानुङकोट समुद्री सतहदेखि करीब एक हजार २०० मिटर उचाइमा छ ।

उक्त स्थानमा सार्वजनिक शौचालय र खानेपानीको समस्या रहेकाले व्यास नगरपालिका कार्यालयले रु ३० लाख बजेट विनियोजन गरेको छ । पछिल्लो समय मानुङकोटमा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको अवस्थामा शौचालय र खानेपानीको चरम समस्या रहेकाले तत्काल व्यवस्थापन गर्न उक्त रकम विनियोजन गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

उक्त स्थानमा सार्वजनिक शौचालय निर्माणलगायत अन्य अत्यावश्यक भौतिक संरचना निर्माण गर्नका लागि विभिन्न सङ्घसंस्थासंग साझेदारीका लागि प्रस्ताव आह्वान गर्न लागिएको छ । मानुङकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना र खानेपानी विस्तृत परियोजना निर्माण गरिनेछ । उहाँले भन्नुभयो, “मानुङकोटमा दैनिक तीन सय मात्र पर्यटकलाई दृश्यवलोकनका लागि प्रवेश व्यवस्था मिलाइएको छ ।”

त्यसैगरी कात्तिक २५ गतेदेखि पर्यटकको अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गराएर मात्रै मानुङकोट प्रवेश गराउन थालिएको छ । केही दिनअघि मानुङकोट घुम्न आएका आन्तरिक पर्यटकमध्ये एक जना सुतिरहेका अवस्थामा र एक जनाको माइक्रो बस दुर्घटना परी मृत्यु भएपछि सुरक्षा व्यवस्थालाई कडाइ गर्न लागिएको हो । उक्त स्थानमा सुरक्षाका दृष्टिले प्रहरीचौकी आवश्यक देखिएकाले जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गरी सम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।

पशुमा पूर्ण खोप अभियान

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहँुले पशुपक्षीमा पूर्ण खोप लगाउने अभियान शुरु गर्न लागेको छ । पशुपालन क्षेत्रमा उत्पादकत्व वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गरी निर्यातमा प्रवद्र्धन गर्ने उद्देश्यले यसै वर्षदेखि उक्त अभियान शुरु गर्न लागिएको हो ।

विशेषगरी पशुपालनमा हुने खोरेत, रेबिज, पिपिआरलगायतका खोप लगाएर रोग लाग्नबाट बचाउन लागिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त अभियानअन्तर्गत करीब ८० प्रतिशत पशुमा खोप लगाउन सकिए पूर्ण खोप अभियान सफल भएको मानिन्छ । उहाँले भन्नुभयो, “पहिलो चरणमा जिल्लाका कुनै दुई पालिकाबाट अभियान शुरुआत गरिनेछ ।” सर्वप्रथम सबै घरमा पुगेर गाईभैँसी, बाख्रा, कुकुरलगायत पशुपक्षीको तथ्याङ्क लिएर अभियान अघि बढाइने उहाँले बताउनुभयो । पछिल्लो समय उक्त रोग समस्याका रुपमा रहेकाले यसविरुद्ध खोप दिन थालिएको छ ।

गत वर्ष जिल्लाका ६० हजार बाख्रालाई पिपिआर खोप प्रदान गरिएको सो कार्यालयले जनाएको छ । नगरपालिका र गाउँपालिकाको मागअनुरुप उक्त खोप लगाइएको हो । उहाँले भन्नुभयो, “बाख्रापालन गर्नेको सङ्ख्या बढ्दै गएकाले यस वर्ष खोपको माग अझै बढ्न सक्ने सङ्केत देखिएको छ ।”

पछिल्लो समय जिल्लामा पशुपालन व्यवसायतर्फ किसान आकर्षित बन्दै गएका छन् । दूध मात्रै वार्षिक ५० हजार मेट्रिक टन उत्पादन भई जिल्ला आत्मनिर्भर बन्दै आएको छ । दूध र अण्डामा तनहुँ आत्मनिर्भर भएपछि अन्यत्र निर्यात गर्दै आइएको छ ।

मासुमा जिल्ला आत्मनिर्भर बने पनि बाह्य जिल्लामा निर्यात भने गर्न सकिएको छैन । कार्यालय प्रमुख डा श्रेष्ठले भन्नुभयो, “अब मासु उत्पादनमा वृद्धि गराई बाह्य जिल्लामा समेत निर्यात गर्ने लक्ष्य राखिएको छ ।” जिल्लामा उत्पादित दूधमध्ये ५० प्रतिशत बाह्य जिल्लामा निर्यात हँुदै आएको तथ्याङ्कमा उल्लेख छ ।

पशुपालन किसानलाई प्रोत्साहन गर्न सरकारले दूधमा प्रतिलिटर रु साढे दुई अनुदानको व्यवस्था गरेको छ । ससाना दुग्ध सहकारी संस्थालाई प्रोत्साहन गर्न रु ९० लाख बजेट विनियोजन गरिएको उक्त कार्यालयले जनाएको छ । जिल्लामा करीब १८ दुग्ध सहकारीमार्फत दूध सङ्कलन हँुदै आएको छ ।

पाँच÷दश हजार लिटर दूध सङ्कलन गर्ने सहकारीलाई भन्दा चारपाँच सय लिटर दूध उत्पादन गर्दै गरेकालाई उक्त अनुदान दिइने व्यवस्था छ । जिल्लामा पछिल्लो समय फर्म दर्ता गरेर व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म जिल्लामा एक हजार बढी फर्म दर्ता भइसकेका छन् । उहाँले भन्नुभयो, “करीब चार सयको हाराहारीमा गाईभैँसीका मात्रै फर्म सञ्चालनमा छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !