, जातीय विभेदले आफ्नै बाबुको शव छुन नपाएका बुढाक्षेत्री

जातीय विभेदले आफ्नै बाबुको शव छुन नपाएका बुढाक्षेत्री

ताप्लेजुङ, ११ भदौ । जन्म दिने बाबुको निधनले धरधरी आँसु झरिरहेका बेला कसैले मृत शरीरलाई हेर्न र छुन मात्रै नभई दाहसंस्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शोकमा डुबेका मानिसलाई कति पीडा हुँदो हो । त्यही पीडादायी परिस्थितिमा ‘हाम्रो कुल वंशबाट नै निकालिएको, तँ तल्लो जाति’ को भनेर आफ्नै दाजुभाइले नानाथरी गाली गरेर घचेट्दा कति मन जल्दो हो । यस्तो परिस्थितिको कल्पना गर्न पनि सकिन्न ।

तर यस्तै पीडादायी परिस्थितिले छटपटाएर न्यायको खोजीमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री सदरमुकाम फुङलिङ आउनुभएको केही दिन बित्यो । समाजमा अहिले दलित समुदाय र अन्य जातिबीच जातीय भेदभाव कायमै छ । दलित समुदायका छोरीचेली विवाह गरेकै कारण आफ्ना दाजुभाइ र समाजबाट बहिस्कारमा परेका थुप्रै उदाहरणमध्ये बुढाक्षेत्री पनि एक हुनुहुन्छ । गाउँमा सानैदेखि चिनजानमा रहेकी विश्वकर्मा थरकी महिलासँग प्रेमपछि वैवाहिक सम्बन्धमा जोडिनुभएका राजिन्द्र त्यसबेलादेखि नै गाउँ समाजबाट एक्लो हुनुभयो । विसं २०६० सालमा उहाँबीच विवाह भएको थियो । विवाहपश्चात् घरबाट अन्यत्रै छुट्टिएर बस्नुभएका राजिन्द्रको परिवार समाजको नजरबाट टाढै बने पनि आफ्नै दुनियाँमा रमाउँदै आयो ।

यत्तिकैमा गएको साउन १० गते अचानक बिरामी पर्नुभएका आफ्ना बाबुले घरमा बोलाएर उपचारमा लैजानू भनेपछि राजिन्द्र उपचारका लागि बाबुलाई लिएर झापाको विर्तासिटी अस्पताल पुग्नुभयो । केही दिन अस्पतालमा बसेपछि बाबुलाई केही सञ्चो भए जस्तो देखियो र बिरामी परेका बाबुले नै घर लैजानू भनेपछि साथमा लिएर साउन १७ गते राजिन्द्र घर फर्किनुभयो । घर आइपुगेको भोलिपल्ट साउन १८ गते नै पुनः बुबा सिकिस्त बिरामी पर्नुभयो । सिकिस्त बिरामी परेपछि बाबुको बैतर्नी गर्ने निधो भयो । उक्त समयमा एकाघरका दाजु प्रेम बुढाक्षेत्रीले ‘तिमीहरु छोराछोरीसहित परिवारै घर जानु, यहाँ बस्दा बिटुलो हुन्छ, अशुद्ध हुन्छ, तिमीहरु अछूत कामी जातका मानिस हौ र तिमीहरुलाई हाम्रो बुढाक्षेत्रीको कुल परिवारबाट हामीले बहिस्कार गरिसकेका छौँ’ भनेर आफुलाई त्यहाँ बस्न वञ्चित गरेको राजिन्द्रले बताउनुभयो । त्यही दिन दिउँसो साढे १ बजे राजिन्द्रका बुबा बित्नुभयो ।

मृत्युपछि परिवार शोकमा डुब्यो । अरु दाजुभाइ छरछिमेक सबै भेला भए । सँगैमा अरु सबैले मृत शरीर नजिक गएर हेरे, रोए कराए तर राजिन्द्र, उहाँकी श्रीमती फुलमाया र उहाँहरुका छोराछोरीलाई नजिक जानसमेत वञ्चित गराइयो । दाहसंस्कारका लागि शव उठाउन तयार हुँदासम्म राजिन्द्रले आफ्ना मृत बाबुको शरीर छुन पाउनुभएन । दाहसंस्कारका लागि घाटमा शव उठाएर लैजाने बेला भएको थियो । नाताले काका पर्ने रामबहादुर बुढाक्षेत्रीले समाजको अघि आएर ‘तिमीहरु अछूत कामी जातका मानिसहरुलाई क्षेत्रीको हुद्दामा आउन दिँदैनौँ, तिमीहरुले घाटमा जान, केस काट्न, काजक्रिया गर्न पाउँदैनौ’ भन्नुभयो । “मलाई पीडामाथि पीडा थोपरियो, चुप लागेर बस्नुबाहेक मसित कुनै विकल्प थिएन”, राजिन्द्रले भन्नुभयो ।

यस्तै सिदिङ्वा गाउँपालिकाको हुलाक कार्यालयमा कार्यरत बुद्धिप्रसाद बुढाथोकीले ‘लाससमेत छुन पाउँदैनौ अब उप्रान्त सेन्चुरी जात लेख्नू’ भनेर हप्कीधप्की गरेको उहाँले बताउनुभएको छ । उहाँका अनुसार यसरी आफ्ना आफन्त, दाजुभाइले जातीय भेदभावसहित गालीगलौज गर्दा समाजका अरु मानिस मुखामुख गरिरहेका देखिन्थे । “त्यहाँ जम्मा भएका पुरोहितलगायत केही बाहुन समुदायका मानिसले राजिन्द्र पनि कुलप्रसादकै छोरा हो, दाजुभाइसँगै बसेर क्रिया बस्दा हुन्छ भन्दाभन्दै पनि चार जनाले गालीगलौज गर्दै दाहसंस्कारका लागि घाटमा जान, लास हेर्न र छुनसमेत वञ्चित गराए”, उहाँले भन्नुभयो । बाबुको लास लिएर अरु घाटतर्फ लागेपछि आफू आफ्नो परिवार लिएर छुट्टिएर बसेको घरतर्फ गएको र दलित समुदायकै पुरोहित बोलाएर १३ दिन क्रिया बसी बाबुको १३ दिने संस्कार सकाएको बुढाक्षेत्रीले बताउनुभयो ।

विश्वकर्माका छोरीसित विवाह गरेदेखि आफू घर परिवार र गाउँ समाजबाटै अलग्गै बन्नु परेको उहाँको भनाइ छ । उहाँका अनुसार यसअघि मूलघरमा भने आउने जाने हुन्थ्यो भने बाबुसँगको सम्बन्ध पनि ठिकै थियो । जातीय विभेदसहित बाबुको दाहसंस्कारमा सामेल हुन वञ्चित गराएपछि यसमा संलग्न चार जना विरुद्ध बुढाक्षेत्रीले बुधबार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा किटानी जाहेरी दर्ता गराउनुभएको छ । जिल्लाको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु घर भई हाल इटहरी बस्दै आउनुभएका प्रेम बुढाक्षेत्री, सिदिङ्वा गाउँपालिका–४ का रामबहादुर बुढाथोकी, सोही ठाउँका क्रमशः बुद्धिप्रसाद बुढाथोकी र खड्क बुढाथोकी विरुद्ध जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै राजिन्द्र र उहाँकी श्रीमती फुलमायाले जाहेरी दिनुभएको हो ।

न्यायको खोजीमा कोरोना सङ्क्रमणका बीच गाउँबाट सदरमुकाम आउनुभएका क्षेत्रीलाई संयुक्त दलित अधिकार मञ्च ताप्लेजुङले जाहेरी दर्ता गराउनेसम्मको कार्यमा सहयोग गरेको छ । मञ्चका अध्यक्ष छत्र विश्वकर्माले यो एउटा प्रतिनिधिमूलक घटना मात्रै भएको साथै गाउँघरमा जातीय भेदभावजन्य आपराधिक घटना प्रशस्तै रहेको बताउनुभयो । यस्ता घटना विरुद्ध सबैले आवाज उठाउन आवशयक भएकोमा उहाँले जोड दिनुभयो ।

यता राजिन्द्र बुढाक्षेत्री र उहाँकी श्रीमती फुलमाया विश्वकर्मा (बुढाक्षेत्री) सहितले दिएको जाहेरीका आधारमा आवश्यक कानूनी कामकारवाही अघि बढाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पीडित परिवारले छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बमोजिम दोषीलाई हदैसम्मको सजाय गरी न्याय दिलाइदिन अनुरोध गरेको छ ।

सदियौँदेखि समाजमा चल्दै आएको जातीय भेदभाव ताप्लेजुङमा समेत अझै कायमै छ । बजार क्षेत्रमा बसोबास गर्ने पछिल्लो पुस्ता र केही सामाजिक क्षेत्रमा रहेका मानिसले भेदभावजन्य गतिविधि नगरे पनि बाँकी समुदायले भने भेदभावका व्यवहार त्याग्न सकेका छैनन् । दलित समुदायका मानिस जातीय भेदभावमा परे कानूनी उपचार खोज्न भने डराउने गरेको संयुक्त दलित अधिकार मञ्चको ठहर छ ।

भेदभावजन्य कार्यले पीडा भए पनि उजुरी दिँदा भोलि गाउँ समाजमा अप्ठ्यारोमा परिने हो कि भन्ने डरले पनि कानूनी उपचारको बाटोमा नलाग्ने गरेको पाइएको मञ्चका उपाध्यक्ष गङ्गा शङ्खरले बताउनुभयो । यसरी समाजमा रहेको जातीय भेदभावलाई न्यूनीकरण गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यकता भएकोमा उहाँको जोड छ ।