, हरितालिका (तीज) व्रत पारायण गरी समापन

हरितालिका (तीज) व्रत पारायण गरी समापन

काठमाडौँ, ६ भदौै । भाद्र शुक्ल तृतीयाका दिन शुक्रबार घर घरमै देवादीदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) मनाएका बर्तालुले आज बिहान पारायण गरी व्रत समापन गरेका छन् । शुक्रबार उमामहेश्वरको पूजा आराधना गरी व्रत बसेका बर्तालु महिला, पुरुषले आज बिहान गोदान, पूर्णपात्र दान गरी घरमा गाईको गोबरबाट लोपा मुद्रासहित अगस्त्य ऋषिको प्रतिमा बनाई पूजा आराधना गरेका छन् ।

लोपा मुद्रासहित अगस्त्य ऋषिको पूजापछि शालिग्राम स्नान गरेको जल (चरणोदक) र तुलसी पत्र चढाएर ग्रहण गर्नुलाई व्रत पारायण भनिन्छ । पारायणपछि नै भाद्र शुक्ल तृतीयाका दिन दिनभर निराहार व्रत बसेका बर्तालुले हरितालिका (तीज) व्रत समापन गर्छन् । यो व्रत समापनपछि गणेश चतुर्थीको व्रत बस्नेले मध्याह्न कालमा गणेश भगवान्को पूजा आराधना गर्ने विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको विश्वासमा हरितालिका (तीज) व्रतको शुरुआत भएको धार्मिक विश्वास छ ।

भाद्र शुक्ल द्वितीयाको राति दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका (तीज) व्रत, चौथीका दिन हरितालिका व्रतको पारायणपछि गणेश भगवान्को पूजा आराधना र पञ्चमीका दिन ३६५ दत्तीवनले स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेपछि चार दिने तीज समापन हुन्छ ।