७ बैशाख २०८१, शुक्रबार

भगवान् श्रीकृष्ण र तुलसी एक पौराणिक दृष्टान्त


भगवान् श्रीकृष्ण र तुलसी

भगवान् श्रीकृष्ण र तुलसी एक पौराणिक दृष्टान्त

बाणी गुणानुकथने श्रवणौ कथायां हस्तौ च कर्मसु मनस्तवपादयोर्नः ।।
स्मृत्यां शिरस्तवनिवास जगतप्रणामे दृष्टि सतां दर्शनेऽस्तु भवत्तनुनाम् ।।
–भागवत १०।१०।३८

प्रभो हाम्रो बाणीले हजुरको मङ्गलमय गुण, नाम वर्णन गरिरहोस्, कानहरूले हजुरको कथारूपी अमृत पान गरिरहोस्, हातहरूले हजुरको सेवामा (भगवतसेवा) लागिरहोस्, र मन हजुरको पवित्र चरणकमलको स्मृतिमा रमिरहोस्, हे भगवन् ! हजुरको निवास अर्थात् समस्त जगत घट-घट स्थावर जंगम्, भूतमा हजुरको निवास भएकोले हाम्रो मस्तक सबै प्राणीको अगाडि निहुरी रहोस्, हे भगवान् ! संतहरू हजुरको साकार शरीर भएकोले हाम्रो आँखाहरूले सदा उनीहरूको दर्शन गर्न पाइरहोस् भनी कुवेरका छोराहरू नलकूवर र मणिग्रीवले भगवान् कृष्णको प्रार्थना गरेको प्रसङ्ग छ । हामी पनि आज भगवान् श्रीकृष्ण्को जन्मोत्सवको पावन अवसरमा सोहि प्रसङ्ग स्मरण गरौं ।

कृष्ण जन्माष्टमी का साथै चतुर्मासमा तुलसीको महिमाले पनि हाम्रो समाजमा उल्लेख्य प्रभाव पारेको छ । त्यस प्रभावको फलस्वरूप प्रत्येक नेपालीको आँगन-आँगनमा तुलसीको मोठ वनाई जेष्ठ शुक्ल एकादशीमा तुलसीको विउ छरी असार शुक्ल एकादशी (हरिशयनी) देखि कार्तिक शुक्लएकादशी (हरिबोधनी) सम्म तुलसी स्थापना गरी नित्य स्नान, पूजा, दीपप्रज्वलन गरी चातुर्मास ब्रतगर्ने र ४ महिना भगवान् शयन गर्ने अर्थात् राजाबलीको द्वारपाल वस्न जाने भन्ने विश्वास गरी तुलसीलाई भगवान्कै प्रतिमूर्तिको रूपमा तुलसी पूजा गर्ने प्रचलन छ । यसै चातुर्मास भित्रभगवान् कृष्णको जन्मोत्सव पर्ने भएकोले पनि कृष्ण र तुलसीको महिमाको एउटा पौराणिक दृष्टान्त यस आलेख मार्फत यथामतिविस्तार गर्ने प्रयास गरेको छु ।

एक दिनको कुरा हो, भगवान् कृष्णले रुक्मीणी, सत्यभामा, जाम्बवती, लक्ष्मणा, सत्या, कालिन्दी, मित्रविन्दा र भद्रायी ८ पटरानीहरूका सँग विवाह गरी फेरी एकै पटक सोह्र हजार रानीसँगविवाह गरेको थाहापाई नारदजीलाई भगवान् कृष्णको गृहचर्या देख्ने कौतुहलताजाग्यो । भगवान्ले आफ्ना १६१०८ रानीलाई के कसरी सन्तुष्ट पारी गृहस्थजीवनचलाइरहनु भएकोे छ भनीजाँचगर्न जानु प¥यो भनी नारदजीद्वारका जानुभयो।

चित्रं बतैतदेकेन वपुषायुगपत् पृथक । गृहेषु द्व्यष्टसाहस्रं स्त्रिय एक उदावहत् ।।
इत्युत्सुको द्वारावतीं देवर्षिद्रष्टुमागमत् ।
–भागवत १०।६९।२।।–३।

नारद ऋषिद्वारका नगरी पुगी विश्वकर्माद्वारा निर्मित त्यो शहर जुन वर्णन नै गर्न नसकिने दिव्य मणि, मोति, माणिक्य जडित कला कौशलको अलौकिक दृश्य हेर्दै-हेर्दै रुक्मिणीजीको भगवनमा पुग्नु भयो । नारदजीआएको देखी भगवान् श्रीकृष्ण पलङ्गबाट उठ्नु भयो र शास्त्रोक्त विधिद्वारा नारदजीको पूजा गर्नु भयो । (भगवान्ले ऋषि तथा ब्राह्मणलाई सदा मनुष्यले गर्ने जस्तै शास्त्रोक्त विधिबाटै पूजागनु हुन्थ्यो) भगवान् सारा संसार भगवान्को भक्ति साथ पूजाअर्चना, प्रार्थना गर्दछन् भने भगवान् ब्राह्मण, ऋषि, अतिथि तथा गुरुको भक्त हुनुहुन्थ्यो । त्यसपछि नारदजी त्यहाँबाट विदाभएर दोस्री पत्नीको महलमा जानु भयो । त्यहाँ पनि भगवान् आफ्नो पत्नी तथा भक्त उद्धवजीसँग पासा खेलिरहेको देख्नु भयो । नारद आएको देखी फेरी भगवान्ले शास्त्रोत्त सत्कार तथा पूजा गर्नु भयो र फेरी नारदजी अर्को महलमा जानु भयो । त्यस भवनमा पनि भगवान्ले सोहि बमोजिम सेवा सत्कार गर्नुभयो र भगवान्ले नारदलाई भन्नु भयो हे देवर्षि ! हामीलाई केहि सेवा गर्ने अवसर दिनुहोस् भन्ने आज्ञा भयो । ब्राह्मण तथा ऋषिहरूको सेवा गर्नु हामी गृहस्थको परम धर्म तथा कर्तव्य हो भनेर आज्ञा हुँदा नारदजी विस्मित तथा चकित हुनु भयो ।

अथापिब्रूहि नो ब्रह्मन् जन्मैतच्छोभनं कुरु ।
–भागवत १०।६९।२२

हे ब्रह्मन् ! केही न केहीअवश्य आज्ञा गरी सेवाको अवसर दिएर हाम्रो जन्मलाई सफल पार्नु होस् भनी अनुरोध गर्दा नारदजी त्यहाँबाट चुपचाप अर्को महलमा जाँदा भए । त्यहाँ पनि साना केटाकेटी, साथी, छोराहरू सँग कृडा गरिरहेको देख्नु भयो । फेरी त्यहाँबाट पनि अर्को महलमा जाँदा त्यहाँ भगवान् कृष्णलाई स्नान गर्ने तयारीमा देख्नुभयो भने अर्को महलमा जाँदा यज्ञकुण्डमा हवन तथा पञ्चमहायज्ञ गरी देवता आदिको आराधना गरिरहेको देख्नु भयो । एवं रितले नारदजी जहाँ-जहाँ जानु हुन्थ्यो त्यहाँ–त्यहाँ भगवान् कृष्ण यज्ञ गरिहेको त कतै स्वयं भोजन गरिरहेको देख्नु हुन्थ्यो । कतै त युद्ध तथा युद्ध विरामको प्रसङ्ग चलिरहेको थियो भने कतै पुत्रको विवाह तथा कतै कन्या अन्माइ रहेको पनि देख्नु भयो र आश्चर्य हुनु भयो ।

जुह्वन्तं च वितानाग्रीनयजन्तं पञ्चभिर्मखैः ।
भोजयन्तं द्विजान् क्वापि भुञ्जानमवशेषितम् ।।
–भागवत१०।६९।२४

यसै गरी कतै ध्यान, कतै गायत्रीजप, कतै सुतिरहेका भने कतै गुरुजनहरूलाई आवश्यक भोग्य सामाग्री प्रदान गरी भोजन गराई रहेको देखे । कस्तो भने मनुष्यले गर्नु पर्ने जे जतिकर्महरू छन् ती सबै कर्महरू आफु नाती १६१०८ रानीहरूसँग एक जनासँग एक-एक भई १६१०८ नै रूपधारण गरी कर्म गरिरहेको देख्नु भयो र भगवान्को माया देखेर केही बोल्न सक्नु भएन । त्यसै गरी नारदजी सत्यभामाको महलमा पुग्नु भयो । तब सत्यभामाले देवर्षि नारदलाई केही ग्रहण गर्न तथा अनुरोध गर्दा नारदले केही पनि माग्नु भएन । नारदले केहि पनि नमागे पछि सत्यभामाले अहंकार गरी केही न केही त माग्नै पर्छ भनी ज्यादै कर गर्न लाग्नु भयो । सत्यभामाले नारदजीले हामीसँग जे वस्तु मागे पनि उनलाई उनका पिताले दिएको सेवन्तक मणि शिद्ध गरी दिउँला भनी आफुसँग भएको मणिको प्रभाव सबैलाई देखाउन त्यसो भन्नु भएको थियो । यस प्रसङ्गमा मैले एक विद्वान संत सँग सत्सँग हुँदा सुन्न पाएको कथन यहाँ कृष्ण र तुलसीको महिमा प्रस्तुत गर्न चाहन्छु ।

सत्यभामाले केही वस्तु माग्न धेरै कर गरे पछिे नारदजीले विचार गर्दै, मैले माग्नु नै छ भने किन भगवान् कृष्णलाई नै नमाग्ने भनी हे देवी ! तपाई मलाई केही दिन चाहनु हुन्छ भने भगवान् कृष्ण दिनुहोस् भन्दा सत्यभामा चकित पर्नु भयो र भगवान् त मैले दिन सक्दिन भनेर लाचारी प्रकट गर्नु भयो तब नारदले त्यसो भएमलाई भगवान् सरह जे दिनु हुन्छ दिनुहोस् भन्दा सत्यभामाले भगवान्लाई तुलाको एकतर्फ र अर्कोतर्फ सुन, चाँदी, माणिक्य राख्दा राख्दा भगवान् कृष्ण नै बढी भएको देखि सत्यभामालाई आपत पर्यो । आफुले बोलेका कुरा पूरा गर्न नसकेपछि धेरै सुर्ताउन लाग्नु भयो । त्यहाँ उपस्थित सबै जनाहरूले पनि यसै गर्ने भनेर भन्न सक्नु भएन । यस्तो चमत्कार देखेर सबै जना आश्चर्य मान्न लागे । यस्तो भगवान्को दिव्य लीला देखेर देवर्षि नारद पनि मायाद्वारा मोहित हुनु भयो ।

सत्यभामाले यस्तो चमत्कार देखी गुरुसँग के गर्ने भनी परामर्श गर्दा गुरुले एक पत्ता तुलसीपत्र राखिदिनुस् तब भगवानको् बराबर हुन्छ तब ती अलंकार, खजाना र तुलसीपत्र दान दिनु होला भनेर भनेपछि सत्यभामाले त्यसै गरिन । एक पत्तातुलसी राखेपछि भगवान् सरहको भार पुग्न गयो र नारदलाई अर्पण गर्नु भयो । यस प्रसङ्गलाई यहाँ उदृत गरेको छु । हुनत यस्तो दृष्टान्त कुनै पुराणहरूमा उल्लेख गरेको हुन सक्छ । मेरो अल्प ज्ञानले त्यसको खोज गर्न नसकेको पनि हुन सक्दछ । मैले यो कथाप्रसङ्ग एक विद्वानबाट सुन्न पाएको थिएँ त्यसैलाई यहाँहरू समक्ष राखेको हूँ । अझ स्पष्ट रूपमा प्रकाश पार्नु पर्दा भगवान् धन, दौलत, ऐश्वर्य भन्दा श्रद्धासाथ अर्पण गरेको एक पत्ता तुलसीले पनि तृप्त हुनु हुन्छ र खुशी पनि हुनु हुन्छ भने यो नारदद्वारा हामी तथा संसारको लागि प्रदान गर्नु भएको दिव्य ज्ञान हो भनेर मान्न सकिन्छ ।
अस्तुः
“कृष्णं वन्दे जगद्गुरुम्”

*काठमाडौँ कपन निवासी सुरेन्द्र प्रसाद सिग्देल लेखक हुनुहुन्छ । उहाँको पाण्डव-गीता पुस्तक प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

सीता एक पौराणिक रहस्य तथा सीता चरित्र

सीता उत्पत्ति दिवस र यसको सान्दर्भिकता

नेपालकी राष्ट्रिय विभुति माता सीता र उनको पतिव्रता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !