१३ बैशाख २०८१, बिहिबार

मनाइयो कर्कट (साउने) सङ्क्रान्ति


साउन सङ्क्रान्ति

काठमाडौँ, १ साउन । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाएका छन् । परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताउनुभयो ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण आफन्तकहाँ जान सहज भएन । यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाएका छन् । भक्तजनको भीड लाग्ने राजधानीलगायत देशभरका शिवालयमा पनि आज मानिस देखिएनन् ।

पशुपतिनाथ मन्दिर कोरोनाका कारण भक्तजनका लागि खुला नगरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । भक्तजनमा कोरोनाको सङ्क्रमण नहुने निश्चित गरेर मात्र मन्दिर खोलिने गरी तयारी भइरहेको पनि उहाँले सुनाउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !