१२ बैशाख २०८१, बुधबार

सम्पदा संरक्षण जुट्यो ‘पौवादुङ्’


भोजपुर, २१ असार । यहाँको पौवादुङमा गाउँपालिका पर्यटकीय क्षेत्रको विकाससँगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, सन्तानेश्वर मन्दिर, दुङमाली भाषा संरक्षण केन्द्र, च्याङग्रे पोखरी, अरुण डाँडालगायत ठाउँको संरक्षण थालनी गरेको हो ।

सो गाउँपालिकाले दुङमाली भाषा संरक्षरण केन्द्र भवनको निर्माण तथा सन्तानेश्वर महादेव मन्दिरको पनि संरक्षण कार्य जारी राखेको छ ।

त्यस्तै च्याङग्रे पोखरी र पर्यटकीय क्षेत्र अरुण डाँडाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर प्रदेश १ सरकारसँगको सहकार्यमा काम भइरहेको गाउँपालिकाको भनाइ छ । गाउँपालिका केन्द्र नजीकै रहेको कोटगढीको संरक्षणका लागि श्रमदानसहित ५० लाखमा बाटो निर्माण सम्पन्न गरेको छ भने आवश्यक पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ । गाउँपालिकाको ऐतिहासिक महत्व बोकेको ऐतिहासिकगढी रहेकाले संरक्षण तथा विकासमा ध्यान दिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकालाई आर्थिक रुपमा विकास गर्नका लागि अन्य क्षेत्रसँगै पर्यटकीय तथा ऐतिहासिक धार्मिक क्षेत्रको विकासमा योजनाबद्ध रुपमा लागेका छौँ, गाउँपालिकाका मुख्य पर्यटकीय क्षेत्रहरुको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरेर गाउँपालिका तथा प्रदेश सरकारसँग पनि सहकार्य गरेर काम अगाडि बढाएका छौँ ।”

गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका अन्य विभिन्न पर्यटकीय क्षेत्रको विकासका लागि पनि योजना अगाडि बढाएको जनाएको छ । भावी योजनामा चिवाचुङ डाँडा, छ्याङ्गी मन्दिर, भाते ढिकुरा, आहाल डाँडा, गुफानागी, दिर्गे डाँडा, दिदीबहिनी डाँडा, मालिका डाँडा, मार्गपोखरी र डुडेगैरालगायत पर्यटकीय क्षेत्रको विकास तथा संरक्षणका लागि काम गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले भौतिक निर्माणसँगै कृषि र पर्यटन क्षेत्रमा विशेष प्राथमिकता दिएका छौँ, अहिले गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय र धार्मिक तथा पर्यटकीय स्थान पहिचान गरेर विकासमा लागिपरेका छाँै, यसले गाउँपालिकाको आर्थिक विकासमा टेवा पु¥याउने हामीले लक्ष्य लिएका छौँ ।”

गाउँपालिकाले पर्यटनको क्षेत्रमा गरिरहेको विभिन्न खाले योजनाले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने स्थानीयवासीले बताउने गरेका छन् । स्थानीयवासी ज्ञानेन्द्र राईले भन्नुभयो, “गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकासमा गरिरहेका काम निकै राम्रो छ, यसरी गाउँपालिकाका पर्यटकीय र धार्मिक क्षेत्रको पहिचान गरेर विकासको थालनी गर्दा हामीलाई निकै खुसी लागेको छ, यसले आर्थिक विकाससँगै ऐतिहासिक क्षेत्रहरुको संरक्षण हुने देखिन्छ ।”

सडक कालोपत्र हुँदै

प्रदेश नं १ सरकारको महत्वपूर्ण योजनाका रुपमा रहेको भोजपुर– मानेभञ्याङ–वैकुण्ठे–यूँ २० किलोमिटर सडकको कालोपत्रको काम ३० प्रतिशतभन्दा बढी सकिएको छ । लकडाउनको समयमा पनि कामलाई निरन्तर रुपमा सञ्चालन गरेर तोकिएको अवधिमा सक्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

दक्षिणी क्षेत्रलाई सहज रुपमा सदरमुकामसम्म जोड्नका लागि प्रदेश सरकारको रु ५४ करोड लागतमा कालोपत्र गर्ने लक्ष्यका साथ गत माघ महिनाबाट कामको थालनी गरिएको हो । कामलाई तोकिएको समयमा सम्पन्न गर्नका लागि लकडाउन तथा बर्सातको समय सुरु भए पनि निर्माणको काम तीव्र गतिमा भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख राजनराज रेड्डीले भन्नुभयो, “लकडाउनमा पनि हामीले काम निरन्तरता दिएको थियाँै, अहिले निर्धारित समयमा सम्पन्न गर्न हुने गरी नै कामको प्रगति देखिएको छ, यसलाई जिल्लाकै नमूना सडकका रुपमा निर्माण गर्नका लागि नियमित अनुगमन गरिरहेका छौँ ।”

रामप्रसाद राई गाउँपालिकाको डढुवाबाट कालोपत्रको थालनी गरिएको सडकको गे्रडिङ मिलाउने, चौडा गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, ड्रेन बनाउने लगायतको काम भइरहेको छ । प्रदेश सरकारको दुर्गामी महत्व बाकेको सडक रहेकाले लकडाउनको समयमा पनि निर्माणमा अवरोध हुन नदिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा निर्माण कार्य गुणस्तरीय ढङ्गले तीव्र गतिमा सञ्चालनमा रहेको पाइएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले भन्नुभयो, “महत्वपूर्ण सडक आयोजना भएकाले हामीले लकडाउनको समयमा आउने विभिन्न समस्याको समाधान गर्दै कामलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाएको छाँै, स्थलगत रुपमा अनुगमन गर्दा यो छोटो अवधिमा निकै राम्रो प्रगति भएको पाएँ ।”

सडक निर्माणलाई गुणस्तरीय बनाउनका लागि इन्जिनीयरहरुले नियमित रुपमा अनुगमन गर्ने गरेका छन् । सडकलाई जिल्लाकै नमूना सडक बनाउने गरी यसको प्राविधिक फाँटमा ध्यान दिएको जनाइएको छ । निर्माण कार्यलाई हेर्दा सडक गुणस्तरीय ढङ्गले मापदण्ड अनुसारको देखिएको सरोकारवाला पक्षको भनाइ छ । स्थलगत अनुगमनमा जानुभएका नागरिक समाजका संयोजक प्रशुराम तिवारीले सडक गुणस्तरीय ढङ्गले निर्माण भइरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “सडक निर्माणले तीव्रता पाइयो, लकडाउनको यो अवस्थामा पनि निर्माण प्रगति हेर्दा कार्यालयको पहल र सबै पक्षको समन्वयमा भइरहेको यो काम निकै सराहनीय छ ।”सडक निर्माणको जिम्मा युनाइटेड बिल्डर्स र सिद्धिसायी जेभीले पाएको छ । सम्झौताअनुसार यस सडक निर्माणको काम आगामी २०७८ माघ महिनामा सक्नुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !