१३ बैशाख २०८१, बिहिबार

समृद्धिमा युवावर्गको महत्वपूर्ण भूमिका : उपसभामुख शर्मा


gandaki

२१ फागुन, पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समाजका विकृति विसङ्गतिको अन्त्य गर्दै मुलुकलाई समृद्ध बनाउन युवावर्गको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

शिवरात्रि पर्वको अवसरमा अरुणोदय युथ क्लब पोखरा–७ द्वारा सोमबार आयोजित छैटौँ महाशिवरात्रि घारीपाटन साँझको उद्घाटन कार्यक्रममा उहाँले शिवरात्रि कुलत, हिंसा र अहङ्काररहित पर्वको रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो । जनअपेक्षाअनुरूप गरिने गतिविधिले सङ्घीय व्यवस्था बलियो हुने बताउँदै उहाँले त्यसका लागि तीनवटै सरकार जिम्मेवार भएर विकास निर्माणमा जुट्नुपर्ने उल्लेख गर्नुभयो ।

पोखरा महानगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र बरालले घारीपाटन क्षेत्रलाई आगामी तीन बर्षभित्र धुले माटोरहित बनाउने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माण वडावासीको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महानगर सहकारी व्यवस्थापन समिति संयोजक तेजनारायण अधिकारीले क्लबले गर्ने प्रत्येक गतिविधिले युवावर्गलाई कुलतमा लाग्नबाट जोगाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो । क्लबका अध्यक्ष सुरेश गुरुङ, महानगर न्यायिक समितिका सदस्य किशोर बराल, नेका वडा सभापति नवीन बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाही, क्लबका उपाध्यक्ष घनश्याम लामिछानेलगायतले कला, संस्कृतिको जगेर्ना गर्न यस्ता पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो ।

कार्यक्रममा समाजका ज्येष्ठ नागरिक ९६ वर्षीय हस्तबहादुर घले र ९६ वर्षीय बलमाया गुरुङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो भने नृत्य प्रशिक्षकद्वय प्रकृति गुरुङ र रोहिवी राई गुरुङलाई सम्मान गरिएको थियो । सोही कार्यक्रमा दुवै मिर्गाैला फेल भई उपचाररत १८ वर्षीय मञ्जिल गुरुङलाई क्लबको तर्फबाट रु १४ हजार ८४० आर्थिक सहयोग गरिएको क्लबका सचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !