१३ बैशाख २०८१, बिहिबार

गणतन्त्र दिवस : मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देश


मुख्यमन्त्री शंकर पोखरेल

जेठ १५ गते । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गणतन्त्र दिवसको अवसरमा सबै दिदी बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पोखरेलले आज शुभकामना सन्देश जारी गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

जनताको सङ्घर्ष र बलिदानले सार्थकता पाएको दिन तथा ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गरी बिना कुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रममा घाइते र बेपत्ता योद्धाप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको छ ।

“शहीदको बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई जनताका छोराछोरीले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको हो”, सन्देशमा भनिएको छ, “गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतःनागरिकमा स्थापित गरेको छ, गणतन्त्र शासन पद्धति मात्र नभएर नागरिकको जीवन पद्धति हो, गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको छ ।”

नेपालको संविधानले गणतन्त्रलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाका रुपमा आत्मसात गरेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुनुपर्छ सन्देशमा भनिएको छ ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जानेछ”, सन्देशमा भनिएको छ, “हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश खुशी जनताको लक्ष्य बोकेर योजनाबद्ध विकासमा अघि बढेका छौँ, बितेका दुईवर्षमा प्रदेश सरकार अघि बढ्नका लागि बलियो आधार खडा भएको छ ।”

मुख्यमन्त्री पोखरेलले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा उक्त प्रदेशका सबै राजनैतिक दल, सङ्घ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा अपील गर्नुभएको छ ।

“नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिँदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको छ”, सन्देशमा भनिएको छ, “यो सङ्कटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं, सबैको सार्थक सहयोगले नै महामारीलाई जित्न सकिन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !