८ बैशाख २०८१, शनिबार

प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता


प्रदेश ५ सरकार

रुपन्देही, २० असोज । प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम यादव र पुरमती ढेङ्गा मगरले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सभामा पेश गर्नुभएको प्रदेश नं ५ को स्थायी राजधानी तोकियोस् भन्ने प्रस्तावमा दफा ६ को उपदफा १ बमोजिम संशोधन दर्ता गराउनुभएको हो ।

सरकारले प्रदेशको नामकरण लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरिसकेको छ । प्रदेशसभा सदस्य अर्याल र थरूनीले संशोधन प्रस्तावमा प्रदेश ५ को स्थायी राजधानी नवलपरासी, कपिलवस्तु, पाल्पा र रुपन्देही चार जिल्लालाई समेटेर तोक्न माग गर्नुभएको छ ।

यस्तै समाजवादी पार्टीका यादव र मगरले प्रदेश को नामकरण लुम्बिनीको सट्टा थरूहट अवध मगरात राख्न माग गरेका छन् । प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि आज प्रदेशसभामा मतदान हुँदैछ ।

प्रदेशसभाको बैठक शुरु
प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभाको बैठक शुरु भएको छ । बैठकको विशेष समयमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले लोकतान्त्रिक मूल्यमान्यता विपरीत प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव आएकाले विरोध जनाएको बताउनुभयो ।

राजधानीको प्रस्तावभन्दा पनि प्रक्रियाको विरोध गरेको जनाउँदै उहाँले क्षेत्रीयताको भावना राखेर राजधानी घोषणा गर्नु उचित नहुने धारणा राख्नुभयो । “हामी संसदीय व्यवस्थालाई मान्छाँै । हामीले राजनीतिक सहमतिका लागि केही दिन रोक्न भनेको थियौँ तर सरकारले नमानेपछि बाध्य भएर विरोध गर्नुप¥यो”, नेता कनौडियाले भन्नुभयो ।

उहाँले बहुमतको दम्भमा विधि, कानून र प्रक्रिया मिचेर राजधानी जस्तो ऐतिहासिक महत्वको विषय आउँदा पार्टीको असहमति रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा ठूलाठूला राजनीतिक परिवर्तन राजनीतिक पार्टी मिलेर ल्यायौँ तर आज आश्चर्यजनक तरिकाले राजधानीको प्रस्ताव आएको छ । सरकारको यो एकलौटी निर्णय मान्य छैन ।”

प्रदेशको राजधानी दाङ राख्ने विषयमा आपत्ति नभए पनि त्यसको औचित्य पुष्टि गर्न नेता कनौडियाले सरकारसँग आग्रह गर्नुभयो । विपक्षीको पनि सम्मान हुने गरी सहमतिका आधारमा अघि बढ्न सरकारसँग आग्रह गर्दै उहाँले बहुमतको दम्भमा पेलेर जाने काम राम्रो नभएको धारणा राख्नुभयो । “जनताको अदालतभन्दा कोही ठूलो हुँदैन । आज तपाइँ सत्तामा हुनुहुन्छ भोलि हामी हुन्छौँ”, उहाँले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !