४ बैशाख २०८१, मंगलबार

पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री


डोरमणि पौडेल

वाग्मती, ९ भदौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि सरोकारवालाबीच भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो धारणा राख्नुभएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले पहिरोग्रस्त सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आफू पुगेको र त्यस क्षेत्रको स्थिति अत्यन्तै दयनीय रहेको बताउनुभएको थियो । पौडेलले लिदीको जमिन सबैतिर धुजाधुजा भएर फाटेको र चर्केकाले पाल टाँग्नेसमेत ठाउँको अभाव रहेको बताउनुभएको थियो । उहाँले त्यहाँको बस्ती स्थानान्तरणको विकल्प नरहेको भन्दै यसका लागि प्रदेश सरकारसँगै सङ्घीय र स्थानीय सरकारको पनि समन्वय र सहकार्य जरुरी रहेको स्पष्ट पार्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले बस्ती स्थानान्तरण गर्दा रोजगारीसमेत व्यवस्था हुने गरी गरिनुपर्नेतर्फ ध्यान दिनु जरुरी रहेको बताउनुभएको थियो । सिन्धुपाल्चोक जिल्लामा तीनै तहबाट जाने बजेटमा बस्ती स्थानान्तरणका लागि निश्चित बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजानुपर्ने पौडेलको भनाइ थियो । आइतबार आयोजित छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सङ्घीय सरकारका पूर्वमन्त्री शेरबहादुर तामाङलगायतको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !