४ बैशाख २०८१, मंगलबार

प्रदेश नं २ मा सङ्क्रमित ४०० पुग्यो


कोरोना भाइरस

महोत्तरी, १५ जेठ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । आज बिहीबार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो । यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भएको थियो । गत मङ्गलबारसम्म यो सङ्ख्या २६८ रहेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । पछिल्लोपटक सङ्क्रमण पुष्टि भएकाहरुमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका सात, सिरहाका छ र रौतहटका तीन रहेका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो ।

पछिल्लो पुष्टिसँगै प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित रौतहटमा ११२ पुगेका छन् । त्यसैगरी पर्सामा ९५, बारामा ४६, धनुषामा ४२ र सर्लाहीमा ४० पुगेका छन् । त्यसैगरी सप्तरीमा २९, महोत्तरीमा २२ र सिरहामा १४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

अहिले प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती नाकामा घर फर्कनेको लाम बढ्दो छ । भारतमा सञ्चालन गरिएको रेल सेवासँगै घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको हो । प्रदेशमा सङ्क्रमण पुष्टि भएका धेरैजसो भारतबाट नै फर्केका पाइएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउनुहुन्छ ।

प्रदेशमा पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ । बुधबारमात्र प्रदेशका आठ जिल्लामा गरी ७४३ को स्वाब सङ्कलन गरिएको छ । प्रदेशभित्र १० हजार ५८९ को स्वाब सङ्कलन भएको निर्देशनालयले जनाएको छ । यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको स्वाब सङ्कलन अन्य प्रदेशमा भएको जनाइएको छ । प्रदेशका आठै जिल्लाका क्वारेन्टिन केन्द्रमा आज पनि स्वाब सङ्कलन गरिँदैछ ।

स्वाब परीक्षण गरिएकामध्ये आज बिहान ९ बजेसम्म ४०० जनाको नतिजा पोजेटिभ आएको छ । प्राप्त नतिजामध्ये सात हजार ९१५ को नेगेटिभ र दुई हजार २७४ को रिपोर्ट आज साँझसम्म आइपुग्ने उहाँले जानकारी दिनुभयो ।

प्रदेशका आठै जिल्लामा गरी अहिले ३०१ क्वारेन्टिन केन्द्र बनाइएका छन् । सीमा क्षेत्रबाट मुलुक भित्रिने क्रम बाक्लिएसँगै जेठ दोस्रो सातामै १२० क्वारेन्टिन केन्द्र थपिएका हुन् । यसअघि १८१ केन्द्र सञ्चालित थिए । अहिले ३०१ केन्द्रमा १६ हजार ९१४ श्यया छन्, जसमा १३ हजार ४०२ शङ्कास्पद बसेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा होम क्वारेन्टिनमा चार हजार ९०३ रहेका उहाँले बताउनुभयो ।

त्यसैगरी प्रदेशमा ६४५ आइसोलेसन श्यया तयार छन् । अहिले १८९ जना शङ्कास्पद आइसोलेसनमा छन् । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कने पनि ९७ जना पुगेका छन् । प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।
क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण सघन हुनसकेको छैन । यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । निर्देशनालयले भएको सामग्री र दक्ष जनशक्ति स्वाव सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !