२ आश्विन २०८१, बुधबार

इजरायलमा आतंकवादी हमलामा परी ७ जना नेपालीको मृत्यु


आतंकवादी हमला

काठमाडौँ । इजरायलमा आतंकवादी हमलामा परी ७ जना नेपालीको मृत्यु भएको छ । हिजो शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायल स्रोतका अनुसार इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो ।

एनआरएनए इजरायल स्रोतका अनुसार घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो ।

कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् । नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई जानकारी गराएका छन् । नेपाली समयअनुसार शनिबार बिहान ६ः३० बजेबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा परेका नेपालीको अवस्था र नेपालले गरिरहेको पहलका बारेमा परराष्ट्रमन्त्री साउदले प्रतिनिधिसभालाई जानकारी गराएका हुन् । उनका अनुसार इजरायलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुल रहेको तथा तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।

बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनको भनाइ थियो । इजराइलमा हाल करिब चार हजार पाँच सय नेपाली ‘केयर गिभर’को रुपमा कार्यरत छन् । त्यस्तै, दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जना दक्षिणी इजराइलमा अध्ययन गरिरहेका थिए । तिनै १७ जनामध्ये दुई जना सकुशल, तीन जना घाइते भएर उपचाररत र बाँकी १२ जनाको अवस्था अज्ञात रहेको मन्त्री साउदले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री साउदद्वारा संसदलाई जानकारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !