८ बैशाख २०८१, शनिबार

बालुवाटारमा प्रदर्शनकारीमाथि अश्रु ग्यास, पानीको फोहोरा र लाठी चार्ज


बालुवाटारमा प्रदर्शनकारीमाथि अश्रु ग्यास, पानीको फोहोरा र लाठी चार्ज

काठमाडौँ, जेठ २९ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि  र नक्साल क्षेत्रमा सडकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास, पानीको फोहोरा र लाठी चार्ज गरेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा काेराेना महामारीमा सरकारकाे कमजाेर प्रयासकाे विरोधमा काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा स्वत:स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । एमसीसीको विरोधमा बिहीबार विभिन्न स्थानमा प्रदर्शन गर्ने क्रममा युवा विद्यार्थीहरु नक्साल क्षेत्रमा ठूलो संख्या उपस्थित भएका हुन् ।

सरकारी रवैयाको विरोधमा काठमाडौंको बालुवाटार र नक्साल क्षेत्रमा प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकरीलाई प्रहरीले तितरवितर बनाउन खोजेको थियो । बिहीबार बालुवाटारमा भएको प्रदर्शनमा पनि प्रहरीले पानीको फोहोरा, ४-५ राउन्ड अश्रुग्यास पनि हानिएको एक प्रदर्शनकारीले बताएका छन् ।

पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले मंगलबारदेखि प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !