११ बैशाख २०८१, मंगलबार

लकडाउन तीन चरणमा खुकुलो पार्ने मन्त्रिपरिषद्को निर्णय, आज बिहीबारदेखि के-के खुल्दैछन् त ?


मन्त्रिपरिषद्

काठमाडौँ, जेठ २९ । नेपाल सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार मन्त्रिपरिषद्को हिजो बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । सरकारले समितिको प्रस्ताव अनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्‍ले गरेका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज बिहीबार मात्रै निर्णयबारे सूचना तथा संचार मन्त्रालयमा हुने नियमित पत्रकार सम्मेलनमा दिउसो ३ बजे जानकारी दिने बताइएको छ ।

जस अनुसार पहिलो चरण बिहीबारबाट २१ दिन लागू हुनेछ । त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ । त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ । तीनै चरण पूरा भएपछि मात्र सरकारले कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्नेछ । अहिलेकै अवस्थामा पनि लकडाउन पूर्णतया अन्त्य हुन कम्तीमा ५१ दिन लाग्नेछ । यसबीच संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने यो तालिका परिवर्तन हुनसक्छ ।

जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालन गर्ने गरी जनजीवन सामान्यीकरण गर्न कृषि, उद्योग–व्यवसाय, रोजगारी, निर्माण र सेवालगायतका क्रियाक्रलाप क्रमशः खोल्दै जाने सरकारको नीति छ । जनसंख्या मन्त्रालय र गृह मन्त्रालयको निर्देशिका अनुसार सुरुमा स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबैै प्रकारका ढुवानी र पुस्तक पसल लगायतका सेवा पहिलो चरणमा खुला हुनेछन् ।

कोरोना नियन्त्रण र रोकथामका लागि ७९ औँ दिनसम्म कठोर लकडाउन गरेको सरकारले यसलाई ८० औँ दिनदेखि खुकुलो बनाउने निर्णय लिएको छ । कतै आलोचना र कतै उल्लंघन हुन थालेपछि सरकारले यातायात, व्यापार-व्यवसाय र सरकारी कार्यालय खोल्ने निर्णय लिएको छ ।

पहिलो चरणमा आजबाट खुल्ने सेवाहरु र कार्यहरु :

१. स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिक समेत

२. औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्री वितरण तथा ढुवानी

३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण

४. फोहोरमैला व्यवस्थापन

५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६. बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालन सम्बन्धी कार्य

८. कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य

९. उत्पादनशील उद्योग

१०. निर्माण सामग्री सम्बन्धी उद्योग व्यवसाय

११. विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२. निर्माण कार्य (निजीसमेत)

१३. नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४. रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५. क्वारेन्टिनका लागि तोकिएका होटल

१६. बिजुलीका सामान बिक्री र मर्मत

१७. विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८. पुस्तक पसल तथा स्टेसनरी

१९. सबै प्रकारका ढुवानी सेवा

२०. अत्यावश्यक सेवाका कार्यालय

२१. अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

निम्न सेवाहरु र कार्यहरुमा भने लकडाउन जारी रहनेछ :

१. शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

२. सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्य पदार्थ बाहेक)

३. सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

४. अनुमति प्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

५. तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

६. सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

७. २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

८. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

९. स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

१०. खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति

११. पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन

१२. बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानी बाहेक सबै प्रकारका आवागमन ।

माथि उल्लिखित पहिलो चरण २१ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ । स्थिति अनुकूल रहेमा दोस्रो चरण लागू हुनेछ, जुन १५ दिन कायम हुनेछ ।

दोस्रो चरणमा खुल्ने सेवाहरु र कार्यहरु :

१. सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी)

२. एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा

३. ट्याक्सी (चालकबाहेक थप दुई जना यात्रु रहने गरी)

४. रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति-व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम रहने गरी)

माथि उल्लिखित दोस्रो चरण १५ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ । स्थिति अनुकूल रहेमा थप १५ दिनका लागि तेस्रो चरण लागू गरिनेछ ।

तेस्रो चरणमा खुल्ने सेवाहरु र कार्यहरु :

१. सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय

२. संक्रमणको जोखिम विश्लेषण गरी १०० भन्दा कम सक्रिय केस भएमा अन्तर-जिल्ला आवागमन

३. सिट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन

४. आन्तरिक हवाई उडान

५. होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण

६. अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ

७. शिक्षण संस्था (परीक्षा प्रयोजनका लागि मात्र)

८. तालिम तथा ट्युसेन केन्द्र

यो पनि पढ्नुहोस् 

एसइई परीक्षा नहुने, विद्यालयकै आन्तरिक मूल्याङकनलाई मान्यता दिइने

बजार खोल्ने र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने सरकारको निर्णय

असार १ गतेदेखि सरकारी कार्यालय खोल्ने मन्त्रिपरिषद्को निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !