१२ बैशाख २०८१, बुधबार

‘सिटौलाले क्षेत्र छाडेको होइन’, लिङ्देन र पोखरेल पनि मैदानमा


असोज २५, झापा । झापा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा कांग्रेसले जनाएको छ । झापा क्षेत्र नम्बर–३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिल्ला पार्टी सभापति उद्धव थापाले बताए । उनले पत्रकारसँग मंगलबार कुराकानी गर्दै सिटौलाले झापा क्षेत्र नम्बर–३ बाट नै प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने दाबी गरे ।

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले रासससँग कुराकानी गर्दै ‘गठबन्धनमा सहभागी हुन चाहनेले माग राख्नु स्वभाविक भएपनि कार्यदलको बैठकले झापाको क्षेत्र नम्बर–३ राप्रपालाई छाड्ने विषयमा निर्णय गरेको छैन’–भने । कांग्रेसका उम्मेदवार छनोट गर्ने र टिकट वितरण गर्ने संसदीय बोर्ड नै गठन नभएको अवस्थामा क्षेत्र नै छाडेको भनेर चलाइएको हल्लाको भ्रममा नपर्न सिटौलाले आम मतदातालाई अपिल गरेका छन् । २०५० सालको उपनिर्वाचन, २०५६ को आमनिर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा सिटौला झापा क्षेत्र नम्बर–३ बाट लगातार तीनपटक निर्वाचित भएका थिए ।

लोेकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि नेपाली कांग्रेसलाई गणतान्त्रिक बाटोमा लैजान र विद्रोही माओवादीलाई १२ बुँदे सहमति गर्दै विस्तृत शान्ति–प्रक्रियामा ल्याउन सिटौलाले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । राष्ट्रिय राजनीतिमा सिटौलाले निर्वाह गरेको महत्वपूर्ण भूमिका र स्थानीय विकास निर्माणमा र झापाको विकासमा सिटौलाले पुर्‍याएको योगदानलाई यहाँका जनताले कहिल्यै भुल्न नसक्ने ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले बताए । झापा कांग्रेसले सिटौलालाई जोडेर चलाइएको हल्लाको भ्रममा नपर्न आमझापाली मतदातालाई अपिल पनि गरेको छ ।

सिटौलालाई कांग्रेस ३ नम्बर क्षेत्र र जिल्ला समितिले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर–३ को सर्वसम्मत् उम्मेदवारकारुपमा केन्द्रीय समितिमा नाम सिफारिस गरिसकेको छ ।

को हुन् लिङ्देन ?
पञ्चायतकालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थीमन्डलमार्फत् विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गरेका लिङ्देन राप्रपा नेपालको केन्द्रीय सदस्य हुँदै हाल राप्रपाको महामन्त्री छन् । २०६१ मा राजाले सत्ता आफ्नो हातमा लिएपछि लिङ्देन जिविस झापा सभापतिमा मनोनीत भएका थिए ।

२०७० सालमा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र–३ बाट तत्कालीन कांग्रेस महामन्त्री सिटौलाले १४ हजार मत ल्याइ विजयी भएका थिए भने लिङ्देन ९ हजार मत ल्याएर सिटौलाका निकटतम् प्रतिस्पर्धीकारुपमा एमालेलाई पछि पार्दै स्थापित भएका थिए । झापा जिविसको मनोनीत सभापति हुँदा र राप्रपाले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा लिङ्देनले झापाको दक्षिणी क्षेत्रको विकास निर्माणमा अधिकतम् बजेट विनियोजन गराएका कारण लिङ्देन त्यस क्षेत्रमा लोकप्रिय नेता मानिन्छन् । राप्रपा महामन्त्री लिङ्देनलाई राप्रपा झापाले क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

को हुन् पुष्प ?
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मालेबाट राजनीति प्रारम्भ गरेका र भद्रपुर नगरपालिकाको प्रमुख हुँदै २०५१ को मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाको सांसदमा चुनाव जितेका पुष्प पोखरेल सो क्षेत्रका मतादाताकाबीच अर्काे स्थापित नाम हो । प्रायजसो नेपाली कांग्रेस र नेकपा एमालेकाबीच कडा प्रतिस्पर्धा हुँदै आएको सो क्षेत्रमा २०७० को संविधानसभाको निर्वाचनमा भने एमाले तेस्रो स्थानमा पुगेको थियो । पोखरेललाई नेकपा एमाले ३ नम्बर क्षेत्र र जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिसकेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !