७ बैशाख २०८१, शुक्रबार

सिमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश देउ – नेपाली कांग्रेस


Nepali-congress-Centre-office-Sanepa

काठमाडौँ, जेठ २ । नेपाली कांग्रेसले सिमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिई सरकार हुनुको दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गरेको छ । नेपाली कांग्रेस पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको आग्रह गरेका हुन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ”कयौं नेपाली कयौं दिनदेखि भारत संगको विभिन्न सिमा नाकामा अलपत्र स्थितिमा छन् । पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सिमा क्षेत्रमा आइपुगेको विवरण नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा प्राप्त भएको छ ।”

भारत सरकारले रेल र बस मार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा भएको पनि उनले ध्यानाकर्षण गरेका छन् ।

जोखिम रहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने एकातर्फ खाने-बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुनेछन् भने अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्ने सम्भावना रहेको उक्त विज्ञप्तिमा भनिएको छ । अत: नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात् सुरक्षित रूपमा घर पुर्याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गरेको छ ।

साथै लुकिछिपी प्रवेशबाट यसबीचमा संक्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न नेपाली कांग्रेस सरकारलाई आग्रह पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !