८ बैशाख २०८१, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गृहले दियो सवारी पास, झापाबाट काठमाडौं आउदै


२ जेठ, काठमाडौं । गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई झापाबाट काठमाडौं आउन पास दिएको छ । पूर्वराजालाई पास नदिएको भन्दै सामाजिक संजालमा सरकारको चौतर्फी बिरोध भएपछी बिहीबार राति नै गृहले पूर्वराजा शाह दम्पत्तिलाई झापाबाट काठमाडौं आउन अनुमति दिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको हो ।

लकडाउन अगाडिबाट पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी श्रीमति कोमल झापाको दमकमा उनकै स्वामित्वमा रहेको चिया बगान हिमालगुडरिकमा बस्दै आएका थिए । लकडाउनका कारण झापामा रोकिएका पूर्वराजा शाह काठमाडौंतर्फ आउदै गरेको शाहका प्रेस सल्लाहकार फणीराज पाठकले नेपालपत्रलाई जानकारी दिए ।

बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । प्रशासनले पास जारी गरेपनि केही बेरमै गृह मन्त्रालयले प्रक्रिया नपुगेको भन्दै खारेज गरेको थियो । खारेज भएपछि प्रशासनले पुन: पासका लागि गृहसँग अनुमति मागेको थियो । तर गृहले सो निवेदन पनि खारेज गरेको थियो ।

गृह मन्त्रालयले २ वटा कारणलाई मात्रै पास दिने भएकाले शाहलाई दिन नसकिएको जनाएको छ । मृत्यु संस्कार र बिरामीका लागि चिकित्सकको सिफारिस भएमा मात्रै सवारी पास दिइने गरेको गृहले जनाएको छ । तर शाहको निवेदनमा यी दुवै कारण नपर्ने भएपछि सिफारिस नदिइएको गृहको भनाइ थियो ।

गृह मन्त्रालयल‍े सोमबार एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेको थियो । यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ । बिहीबार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनलाई कडाइ गरिरहेको छ । बाहिरबाट उपत्यका प्रवेश गरेकामा संक्रमण देखिएपछि प्रशासनले थप कडाइ गरेको छ। त्यसअघि काठमाडौं उपत्यकामा व्यवहारत: लकडाउन केही खुकुलो बनाइएको थियो । अहिले पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरुले गृह मन्त्रालयसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्रलाई गृह मन्त्रालयले झापाबाट काठमाडौं आउन दिएन अनुमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !