७ बैशाख २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्रलाई गृह मन्त्रालयले झापाबाट काठमाडौं आउन दिएन अनुमति


ज्ञानेन्द्र शाह

काठमाडौं, जेठ १ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई झापाबाट काठमाडौं आउन पास नदिइने भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय भएको हो ।

बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । प्रशासनले पास जारी गरेपनि केही बेरमै गृह मन्त्रालयले प्रक्रिया नपुगेको भन्दै खारेज गरेको थियो ।

खारेज भएपछि प्रशासनले पुन: पासका लागि गृहसँग अनुमति मागेको थियो । तर गृहले सो निवेदन पनि खारेज गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरका अनुसार शाहले कारणमा काठमाडौं जाने भन्दै पासका लागि निवेदन दिएका थिए ।

गृह मन्त्रालयले २ वटा कारणलाई मात्रै पास दिने भएकाले शाहलाई दिन नसकिएको जनाएको छ । मृत्यु संस्कार र बिरामीका लागि चिकित्सकको सिफारिस भएमा मात्रै सवारी पास दिइने गरेको गृहले जनाएको छ । तर शाहको निवेदनमा यी दुवै कारण नपर्ने भएपछि सिफारिस नदिइएको गृहको भनाइ छ ।

गृह मन्त्रालयल‍े सोमबार एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेको थियो। यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ। बिहीबार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ।

पूर्व राजा ज्ञानेन्द्र शाह लकडाउन सुरु हुनुअगावै पत्नी कोमलसहित झापा पुगेका थिए। झापामा रहेको आफ्नो हिमालय चिया बगानमा शाह दम्पती बसिरहेका थिए। पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनलाई कडाइ गरिरहेको छ।

बाहिरबाट उपत्यका प्रवेश गरेकामा संक्रमण देखिएपछि प्रशासनले थप कडाइ गरेको छ। त्यसअघि काठमाडौं उपत्यकामा व्यवहारत: लकडाउन केही खुकुलो बनाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !