८ बैशाख २०८१, शनिबार

लिपुलेकमा भारतले बनाएको सडक नेपालकै भूमि भएको सर्वदलीय बैठकको निष्कर्ष


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक

वैशाख ३१, काठमाडौं । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले लिपुलेकमा भारतले बनाएको सडक नेपालकै भूमि भएको निष्कर्ष निकालेको छ । साथै बैठकले भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भू-भाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्न सरकारलाई सुझाव दिएको छ ।

उक्त बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन नसक्ने ठहर पनि गरेको छ । बैठकमा सहभागी सवै दलका प्रतिनिधिहरुले भारतले सडक बनाएको भू-भाग नेपालको भन्दै अभिमत प्रकट गरेको र त्यसका लागि प्रभावकारी कुटनीतिक कदम चाल्नुपर्ने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रहितमा देखिएको एकताको सम्मान गर्दै पुर्खाले बचाएको नेपाललाई बचाउने र त्यसका लागि सवैको साथ चाहिने बताएका थिए । त्यस्तै भारतसँग आफूहरुले असल सम्बन्ध राख्न चाहेको, कोरोना नियन्त्रणमा भारतले गरेको सहयोग सकारात्मक भएपनि कोरोनाकै बेला भारतले लिपुलेकमा सडक निर्माण गरेर उद्घाटन गर्नु ठिक नभएकोले सरकारले अविलम्ब वार्ता गर्ने पक्षमा रहेको प्रधानमन्त्री रहेको पनि मन्त्री ज्ञवालीले बताए ।

संसदमा प्रतिनिधित्त्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्रीहरु सर्वदलीय बैठकमा सहभागी थिए । बुधबारको छलफलमा सुरुमा सरकारले आफ्नो तर्फबाट सीमा रक्षाका लागि गरेको पहलका बारेमा सहभागीहरुलाई जानकारी दिइएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारका तर्फबाट भएका कामहरुवारे जानकारी गराएका थिए ।

छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवाले काली नदी नै नेपालको सीमा भएको भन्दै कालापानी नेपालकै भएकाले त्यो भूमि फिर्ता गर्न पहल गर्नुपर्ने धारणा राखेको बैठकपछि जानकारी दिए । उक्त बैठकमा सहभागी राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले सरकारले अहिलेसम्म गरेका काम हेलचेक्रयाई भएको भन्दै अव त्यतातिर अल्झेर काम नहुने बताएका थिए । उनले नेपालको राष्टिय स्वार्थका लागि प्रधानमन्त्रीलाई दह्रो अडान लिन आग्रह गर्दै त्यसमा सिंगो राष्टले साथ दिने सुझाव दिएको रातोपाटीलाई जानकारी दिए ।

बैठकमा सहभागी डा. बाबुराम भटराईले भने आफ्नो ६ बुँदे लिखित धारणा राखेका थिए । उनले अहिलेको समयमा आन्तरिक रुपमा राष्ट्रवादको कार्ड खेल्नुभन्दा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए सर्वदलीय बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !