६ बैशाख २०८१, बिहिबार

पूर्वमन्त्री भण्डारीद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री


Former Minister Shankar Bhandari पूर्वमन्त्री शंकर भण्डारी

दमौली, १४ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँका सबै स्थानीय तहलाई शनिबार स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले पूर्वमन्त्री भण्डारीले जिल्लाका चार नगरपालिका र छ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।

सबै स्थानीय तहलाई गरी करिब रु दुई लाख बराबरको व्यक्तिगत सुरक्षा कवच (पिपिइ), स्यानिटाइजर, मास्क वितरण गरिएको पूर्वमन्त्री भण्डारीले जानकारी दिनुभयो । पूर्वमन्त्री भण्डारीले सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई उक्त सामग्री वितरण गर्नुभएको छ । भण्डारीका अनुसार स्थानीय तह, स्वास्थ्य सहायता कक्ष, निजी अस्पताल, प्रहरीलगायतलाई गरी २० थान पिपिइ, पाँच हजार थान मास्क, पाँच थर्मलगन र स्यानिटाइजर वितरण गरिएको छ ।

उहाँका अनुसार प्रत्येक गाउँपालिकालाई एक–एक थान पिपिइ, २०० थान मास्क र स्यानिटाइजर वितरण गरिएको छ भने आँबुखैरेनीस्थित स्वास्थ्य सहायता कक्ष र मिर्लुङको स्वास्थ्य सहायता कक्षमा पाँच थर्मलगन वितरण गरिएको छ । व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

यसअघि व्यास नगरपालिकामा शनिबार आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री भण्डारीले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक रहेकाले आफूले सकेको सहयोग गर्ने बताउनुभयो । जिल्लाका स्थानीय तहमा स्वास्थ्य सामग्री अभाव भइरहेको जानकारी पाएपछि सहयोग गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जिल्लाका सबै स्थानीय तहलाई आगामी दिनमा पनि सहयोग गर्नेछु ।”

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्राप्त भएको स्वास्थ्य सामग्रीले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सहयोग पुग्ने बताउनुभयो । कोभिड–१९ का सङ्क्रमित वृद्धि हुने क्रम बढेकाले आगामी दिन थप सङ्कटपूर्ण हुने हुँदा सबैले सतर्कता अपनाउनुपर्नेमा न्यौपानेले जोड दिनुभयो । नगरपालिकाले बन्दाबन्दीबाट प्रभावित विपन्न तथा असहायहरूलाई करिब रु ५० लाख बराबरको राहत वितरण गरिसकेको न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले पनि जिल्लाका स्थानीय तहहरूलाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।

वडाध्यक्षसहित १६ विरुद्ध किटानी जाहेरी दर्ता
तनहुँको भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्लसहित १६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरिएको छ । भानु नगरपालिका–१ भन्सारका २१ वर्षीय प्रवीण गुरुङको हत्या भएको भन्दै शुक्रबार नै किटानी जाहेरी दिइए पनि उक्त दिन जाहेरी दर्ता नगरेको प्रहरीले शनिबार किटानी जाहेरी दर्ता गरेको हो ।

वैशाख ९ गते रातिदेखि हराएका गुरुङ भानु नगरपालिका–५ नावरुङस्थित खोल्सामा बिहीबार मृत फेला परेपछि पीडित परिवारले वडाध्यक्ष मल्लसहित १६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएको मृतकका बुबा बुद्धिराज गुरुङले जानकारी दिनुभयो । वडाध्यक्षसहित १६ जना शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् ।

भानु नगरपालिका–५ का सुगम मल्ल, आदर्श शाही, बबिन शाही, अमित ठकुरी, विश्वास आले, राजु अछामी, हरि अछामी, रुपेश आले, निर्मल अछामी, सुयोग गुरुङ, दीपक भण्डारी, भानु नगरपालिका–१ का अङ्कित अधिकारी, पवन घर्ती, गोविन्द थापामगर र धनबहादुर घर्तीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको छ ।

वडाध्यक्ष मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि घर्तीले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिनका लागि बोलाउनुभएको थियो । सामान लिन पवनसँगै उहाँका साथीहरू दीपक भण्डारी, अङ्कित अधिकारी र प्रवीण गुरुङ पनि नावरुङ पुग्नुभएको थियो । नावरुङमा स्थानीयवासी गोविन्द थापामगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीय युवा र प्रवीण गुरुङसहितको टोलीबीच झगडा परेको थियो । सोही रातदेखि प्रवीण बेपत्ता हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार घटनाको अनुसन्धान शुरु गरिएको र शव परीक्षणको तयारी भइरहेको छ । “अहिले नै घटनाको सबै विवरण भन्न सकिने अवस्था छैन, पक्राउ परेकाहरूसँग पनि सोधपुछ भइरहेको छ”, उहाँले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !