८ बैशाख २०८१, शनिबार

अध्यादेशप्रति सभापति देउवाको असहमति


deuva

काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आज संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकामा असहमति प्रकट गर्नुभएको छ ।

उहाँले आज साँझ वक्तव्य जारी गरी दुवै अध्यादेशप्रति काँग्रेसको गम्भीर असहमति रहेको जनाउँदै सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको आरोप लगाउनुभएको छ । “कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबैखाले विमति र आग्रहहरुबाट माथि उठेर काँग्रेसले सरकारलाई हरसम्भव सघाउँदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभएको छ ।

संविधान निर्माण गरिंँदा राजनीतिक स्थिरताको बन्दोबस्त गरिएको र सँगै संवैधानिक नियुक्तिमा साझा स्वामित्वको परिकल्पना गरिएको स्मरण गराउँदै उहाँले यस घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट छिट्टै गरिएको प्रमाणीकरणले यी सबै व्यवस्था उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

सभापति देउवाले ती अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई आग्रह गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !