४ बैशाख २०८१, मंगलबार

कोरोना रोकथाम सतर्कतामा ध्यान दिन साझा पार्टीको आग्रह


चिप्लेढुङ्गा, १० चैत । कोरोनाको पूर्वतयारीका बारेमा साझा पार्टीले पोखरा विभिन्न अस्पतालका बारेमा जानकारी लिएको छ । साझा पार्टीको केन्द्रीय सदस्यसहित गण्डकी प्रदेश र जिल्ला संयोजकसहितको टोलीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल लगायतमा पुगेर यसबारे जानकारी लिएको हो ।

साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारीको नेतृत्वमा अस्पताल पुगेको टोलीले अस्पतालमा कोरोना रोकथाम र पूर्वतयारी आंशिक देखिए पनि पूर्ण नभएको र अझै गम्भीर भएर तयारी गर्नुपर्ने देखिएको बताएको छ । प्रदेश र स्थानीय सरकारले बाहिर प्रचार गरेको अवस्था अस्पतालमा पुग्दा नभएको भन्दै प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ । कास्की जिल्ला संयोजक अर्जुन खनालले भन्नुभयो, “हामी हरेक अस्पतालमा गयौँ तर त्यहाँ कार्यरत डाक्टर एवं कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री नभएकाले उनीहरु नै त्रसित अवस्था रहेको भेट्यौँ । अन्य कुरामा पनि संवेदनशीलता देखिएको छैन ।”

साझा पार्टीले सरकारसँगै सम्बन्धित निकायलाई यस विषयमा अझ बढी सचेत हुन सुझावसमेत दिएको छ । सरकारले आवश्क तयारी गरिरहँदा चाहिने स्वयम्सेवी सहयोगी हातहरु अगाडि बढाउन साझा पार्टी सधँै तयार रहेको अर्का केन्द्रीय सदस्य रजनी केसीले बताउनुभयो । साझा पार्टीले सबै प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि मास्क तथा सानिटाइजर वितरण गरेको उहाँको भनाइ थियो । यो विषम परिस्थितिमा मिडियाले जनतालाई सकारात्मक र आधिकारिक सूचना प्रवाह गर्दै जनचेतनामूलक सन्देश प्रवाहलाई जोड दिनुपर्ने बताउनुभयो ।
विन्ध्यवासिनी मन्दिरमा पूजा गर्न रोक
पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन चैत ११ गतेदेखि विन्ध्यवासिनी मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने यो मन्दिरमा चैत मसान्तसम्मका लागि पूजाआजा गर्न रोक लगाइएको उहाँले बताउनुभयो । मन्दिरको दैनिक नित्य पूजाबाहेकका अन्य सबै पूजाआजा तथा धार्मिक गतिविधि गर्न रोक लगाएको उहाँले बताउनुभयो ।

सचिव तीर्थ श्रेष्ठले मन्दिर परिसरमा समितिको मातहतमा पूजा सामग्रीको पसल सञ्चालन गरिरहेका व्यवसायीलाई सटर भाडामा चैत महिनाका लागि ६६ प्रतिशत र एम्बुलेन्स भवनका सटरको भाडामा ५० प्रतिशत पनि विशेष छुट दिने निर्णय समितिले गरेको जानकारी दिनुभयो । पोखरा महानगरपालिका–२ स्थित सो मन्दिरमा दैनिक तीन हजारभन्दा बढी सर्वसाधारण भक्तजनले पूजा गर्ने गरेका छन् । धार्मिक हिसाबले पोखराको प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तव्यका रुपमा यो मन्दिरलाई लिने गरिन्छ ।

समितिले विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र र विन्ध्यवासिनी गुरुकुल पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । (तस्वीर उपलब्ध छ )
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !