१३ बैशाख २०८१, बिहिबार

चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय


चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय

चैत ९, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणबाट जोगिन भन्दै सरकारले सोमबारदेखि भारत र चीनसँगका सबै नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिनमा भारतबाट हुलका हुल नेपाली घर फर्कन थालेपछि जोखिम बढेको भन्दै सरकारले एक साताका लागि दुवै छिमेकीसँग जोडिएका नाका बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एक साताका लागि भारत र चीनसँगका सबै नाका पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । यस्तै सरकारले कोरोनाको सम्भावित संक्रमणबाट बच्न र आवश्यक सामग्री खरिद गर्न प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रिय कोष खडा गर्ने निर्णय गरेको छ ।

उक्त कोषमा सरकारले ५० करोड राख्ने र मन्त्रीहरूले एक महिनाको तलब दिने निर्णय गरिएको एक मन्त्रीले अन्नपूर्णलाई जानकारी दिए । कोषमा देश विदेशबाट सहयोगका लागि सरकारले आह्वान गर्ने निर्णय भएको छ । आम नागरिक र देश विदेशबाट कोषमा स्वेच्छिक सहयोग गर्न सरकारले आह्वान गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

कोषले कोरोना नियन्त्रणका लागि आवश्यक औषधि, उपकरण खरिददेखि क्वारेटाइन व्यवस्थापनका लागि काम गर्नेछ । यस्तै सरकारले अन्तर्राष्ट्रिय हवाई यात्री सेवामा पनि पूर्ण रोक लगाउने निर्णय गरेको छ । यसअघि कोरोना संक्रमित मुुलुकमा हवाई सेवा बन्द गरिएको थियो । कार्गो लगायत अत्यावश्यक बस्तु आयात निर्यातका लागि मात्र अन्तर्राष्ट्रिय हवाई सेवा जारी राख्ने र यात्री सेवामा पूर्ण रोक लगाइएको हो।

हवाई सेवालाई अत्यावश्यक सेवामा राखिएकाले आन्तरिक हवाइसेवा भने नरोकिने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले बताएको छ । सरकारले लामो दुरीका सार्वजनिक यातायात सेवामा सोमबारबाट रोक लगाउने निर्णय गरेको छ । उपत्यकाभित्र भने सार्वजनिक यातायात यथावत सञ्चालन गर्न दिने र निजी यातायातका साधनमा रोक नलगाउने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !