१३ बैशाख २०८१, बिहिबार

को हुन् सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत ?


मोहनबहादुर बस्नेत फाइल फोटो

पृष्ठभूमि र जन्म

देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक-१ बाट प्रत्यक्ष निर्वाचित सांसद मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । बिगत २० वर्षदेखि लगातार हालसम्म नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति तथा हाल नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बस्नेत २०५८ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । बस्नेत पार्टीभित्र खुमबहादुर खड्का निकट नेता मानिन्छन् । खड्काकै कोटामा उनी अहिले मन्त्री बनेका हुन् ।

युवा उमेरदेखि नै स्वस्थ्य जीवनका लागि खेलको विकास हुनुपर्छ भनेर लागेका बस्नेत मार्सल आर्टका खेलाडी समेत हुन् । बस्नेतले जस्तोसुकै समस्या र कार्यकर्ताको भिडभाडको बीचमा पनि बिहानको २ घण्टा समय आफ्नो शारीरिक व्यायामका लागि दिने गरेका छन् । उनको उमेर ६० पुगिसकेको छ, तर हेर्दा ६० होइन, ४५ पनि नकटेका जस्तै देखिन्छन् । मोहनबहादुर बस्नेतको जन्म बि.सं. २०१५ साल भदौ २७ गते सिन्धुपाल्चोक जिल्लाको  बाह्रबिसे–६ मा भएको हो । उनका बाबुको नाम खड्ग बहादुर बस्नेत र आमाको नाम स्व. कोमलमाया बस्नेत हो । उनकी श्रीमतीको नाम माण्डवी राणा (बस्नेत) हो ।

शिक्षा र अनुभव

बस्नेतले राजनीतिशास्त्र  र समाजशास्त्र मा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।

राजनीतिक यात्रा

१४ वर्षको उमेरदेखि नै राजनीतिमा लागी ०३४ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय बस्नेतले  केही महिना भूमिगत जीवन, ३ महिना निर्वासन जीवन, १ वर्ष बन्दी जीवन  बिताएका छन् ।

१. २०३४ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय ।
२. २०४६ देखि पार्टीको राजनीतिमा सक्रिय भएका बस्नेतले बहुदलपछिको पहिलो आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट       संसदको टिकट पाएका ।
३. २०४८ को पहिलो निर्वाचनमा उम्मेदवार ।
४. २०५६ को चुनावमा बस्नेत सिन्धुपाल्चोक-१ बाट एमाले उमेदवार अमृत बोहरालाई हराउँदै सांसद ।
५. २०५८ मा स्वास्थ्य राज्यमन्त्री भएका ।
६. पहिलो संविधानसभा निर्वाचन २०६४ मा उम्मेदवार ।
७. दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार अरुण नेपाललाई ३२ मतले हराउँदै संविधान सभा सदस्य र हाल सांसद ।
८. एमालेले युथ फोर्स, माओवादीले वाइसीएल गठन गरेपछि बस्नेतकै अगुवाइमा तरुण दस्ता गठन गर्नुपर्छ भनेर पार्टीभित्र उनले चर्काे दबाव दिएका थिए । केही वर्षअघि बाह्रबिसेमा तत्कालीन कांग्रेस नेता शेरबहादुर देउवालाई लगेर बस्नेतले तरुण दस्ताको सुरुवात गरेका ।

स्वभाव

बस्नेत निडर र हक्की स्वभावका छन् । केही महिनाअघि मात्रै अर्थ मन्त्रालयमा पुगेर बस्नेतले कर्मचारीहरुको सातो लिएको चर्चा छ ।

विदेश भ्रमण

अमेरिका,  जापान,  रसिया,  वेलायत,  फान्स,  इटाली,  नेदरल्याड,  जर्मनी,  अष्ट्रिया, स्वीजरल्याण्ड,  अष्ट्रेलिया, दक्षिण कोरिया, बेल्जियम,  थाइल्याण्ड,  चिन,  हङकङ्ग, मलेसिया, फिलिपिन्स, भारत, पाकिस्तान, बंगलादेश, मकाउ, सिंगापुर ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !