१३ बैशाख २०८१, बिहिबार

तपाईंको पत्र तपाईंकै गोजीमा राख्नुस्, म राजीनामा दिन्नँ : उपसभामुख तुम्बाहाङ्फे


शिवमाया तुम्बाहाम्फे

२८ पुस, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेकपाले सभामुखको उम्मेदवार निश्चित नगरेसम्म आफूले राजीनामा नदिने अडान दोहोर्‍याएकी छिन् । पार्टी सचिवालयको तर्फबाट लेखिएको पत्रप्रति पनि उनले आपत्ति जनाएकी छिन् । नेकपाका दुई अध्यक्षले उपसभामुख तुम्बाहाङ्फेलाई भेट्न आइतबार ११ बजे बालुवाटार बोलाएका थिए । पार्टी सचिवालयले गरेको निर्णय दोहोर्‍याउँदै उनीहरूले राजीनामा गरेर पार्टीलाई सहयोग गर्न आग्रह गरेका थिए । तर, तुम्बाहाङ्फेले पार्टीले लेखेको पत्रको भाषाप्रति नै गम्भीर आपत्ति जनाएको स्रोतले बताएको छ ।

‘पत्रमा के भाषा लेखिएको छ १ अहिले म पार्टी सदस्य होइन, मैले संविधान र कानुन पालना गर्ने हो, पार्टीको निर्देशन होइन,’ स्रोतका अनुसार तुम्बाहाङ्फेको भनाइ थियो, ‘गैरजिम्मेवार बनेर प्रतिनिधिसभालाई रिक्त बनाउँदै राजीनामा दिन मिल्दैन । म जुन पदीय जिम्मेवारीमा बसेकी छु, त्यसमा एउटा पार्टीले निर्देशन दिन मिल्छ ?’ उनले पार्टीको पत्रको कुनै अर्थ नरहने र राजीनामा पनि नदिने बताउँदै पत्राचार गर्ने महासचिव विष्णु पौडेललाई पत्र फिर्ता लिन चेतावनीसमेत दिएको स्रोतको दाबी छ ।

उपसभामुखको आक्रोश थियो, ‘तपाईंको पत्रमा के लेखिएको छ ? मैले के गल्ती गरेकी छु, यसरी निर्देशन दिन मिल्छ ? तपाईंको पत्र तपाईंकै गोजीमा राख्नुस्, म राजीनामा दिन्नँ ।’ उनले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख पदमा उम्मेदवारी दिन उपसभामुखलाई राजीनामा गर्न लगाउने भन्दै मिडियामा दिएको प्रतिक्रियामा पनि आपत्ति जनाएकी छिन् । उपसभामुखको आपत्तिपछि प्रचण्डले सम्झाउने प्रयास गरेको छलफलमा सहभागी एक नेताले बताए ।

‘तपाईंलाई निर्देशन दिएको होइन, सुझाब दिएको हो, पार्टीले सभामुख पद गुमाउन सक्दैन, त्यसैले तपाईंले राजीनामा दिएर सहयोग गर्नुपर्ने भो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अब हामी छिट्टै सभामुखको उम्मेदवार तय गरेर अघि बढ्छौँ ।’नयाँ पत्रिका दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !