११ बैशाख २०८१, मंगलबार

नेपाली राजनीतिमा गयो भुकम्प : उपेन्द्रपछि लालबाबुको पद पनि धरापमा


उपेन्द्र यादव र लालबाबु राउत

८ पुस, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको चुनावी तालमेलले नेपाली राजनीतिमा हलचल सिर्जना भएको छ । साच्चै भन्ने हो भने समाजवादी पार्टीमा भुकम्प गएको छ । नेकपा र राजपाबीच सुरू भएको नयाँ सहकार्यलाई चुनावी तालमेल मात्र नभएर दीर्घकालीन महत्वको सहकार्यको रुपमा समेत रहेको राजनीतिक विश्लेषकहरु बताउछन् ।

नेकपाको राजपासँगको चुनावी तालमेलले आगामी दिनमा नयाँ गठबन्धनको स्पष्ट संकेत गर्दै नेकपा सत्ता साझेदार समाजवादी पार्टीलाई पन्छाएर आगामी दिनमा राजपासँग राजनीतिक सहकार्यको संकेत दिएको थियो । नेकपाको राजपासँगको चुनावी तालमेल र संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएको कारणले समाजवादी पार्टी सरकार छाड्न बाध्य भएको हो ।

प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री उपेन्द्र यादवबीच पछिल्ला दिनमा सम्बन्ध राम्रो थिएन । यसअघि मन्त्रिपरिषद पुनर्गठन गर्दा यादवलाई जानकारी नै नदिइकन प्रधानमन्त्री ओलीले उनलाई स्वास्थ्य मन्त्रालयबाट कानुनमा सरूवा गरेका थिए । समाजवादीकै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई समेत हटाइदिएका थिए।

राष्ट्रिय सभामा प्रदेश २ बाट रिक्त हुने ४ स्थानमा माघ ९ गते निर्वाचन हुँदैछ । ती ४ मध्ये अहिले राजपाका २, कांग्रेस र सामजवादी पार्टीका १/१ जना सांसद छन् । अब नयाँ ४ जना सांसदको निर्वाचनमा प्रदेश २ सभासद र स्थानीय सरकारका प्रमुख र उपप्रमुखले मत खसाल्छन् ।प्रदेश २ मा नेकपाको सबैभन्दा बढी ३०३० मत (इलेक्टोरल कलेज) छ भने दोस्रो ठूलो मत समाजवादीसँग छ । उसको २३७६ मत रहेको छ । त्यस्तै नेपाली कांग्रेससँग २३७० मत छ भने राजपासँग २१७२ मत छ ।

नेकपा जोसँग मिल्छ त्यही गठबन्धनले ४ वटै सिट जित्ने पक्का जस्तै छ । नेकपाले भने समाजवादीलाई पन्छाउँदै दुई सिट दिएर भएपनि राजपालाई छान्यो । त्यसैले यसलाई चुनावी नभनेर राजनीतिक गठबन्धन भनिएको हो। यसको अर्थ आगामी दिनमा पनि नेकपा समाजवादीको सट्टा राजपासँग मिलेर अघि बढ्न तयार भएको देखिएको छ ।

प्रदेश २ को प्रतिनिधि सभा १०७ सदस्यीय छ । बहुमत पुग्न ५४ जना सांसद चाहिन्छ । अहिले समाजवादी फोरमको ३० र राजपाको २५ गरी ५५ सांसद छन् । एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा प्रदेश-२ को पनि सबैभन्दा ठूलो दल बनेको छ । नेकपासँग प्रदेश-२ मा ३२ जना सांसद छन् । प्रदेश २ मा राजपासँग सहकार्यमा समाजावदीले सरकारको नेतृत्व गरेको छ। समाजवादी पार्टीका लालबाबु राउत मुख्यमन्त्री छन् । सबैभन्दा ठूलो दल नेकपा प्रतिपक्षमा छ ।

प्रदेश २ को सत्ता गठबन्धनमा पनि नेकपा र राजपाबीच सहकार्य भएपछि समाजवादी पार्टी सरकारबाट हट्न पर्ने परिस्थिति आउँछ । नेकपा र राजपाले प्रदेश-२ मा सरकार बनाउन चाहे भने समाजवादी पार्टी सत्ताबाट बाहिरिनुपर्ने हुन्छ । अव समाजवादी पार्टीले सरकार छोडेसंगै राजपा र समाजवादी दल मिलेर बनाएको मुख्यमन्त्री लालबाबु राउतको सरकारको भविष्य अन्योलमा परेको छ भने स्वयम् मुख्यमन्त्री लालबाबु राउतको पद समेत धरापमा परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !