८ बैशाख २०८१, शनिबार

ओली र प्रचण्डवीच सहमति : सभामुखमा नेम्बाङले बाजी मार्ने पक्का


prachanda_kp_oli

८ पुस, काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो सोमबार सभामुख-उपसभामुखका उम्मेदवारका बारेमा छलफल भएको छ । आइतबार नेकपाको स्थायी समिति बैठक सकिएलगतै सभामुख तथा उपभामुख कसलाई बनाउने भन्नेबारे अध्यक्षद्वयबीच छलफल भएको हो । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउपछि उक्त सभामुख पद रिक्त छ ।

सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, हाल उपसभामुख रहेकी शिवमाया तुम्वाङ्फे र नेता अग्नि सापकोटाको नाम अगाडि आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखका लागि पूर्वसभामुख एवं नेकपाका संसदीय दलका उप-नेता सुवासचन्द्र नेम्वाङ र पार्टी अध्यक्ष पुष्पकमल दाहालले पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई अगाडि सारेका थिए भने राष्ट्रपतिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउन चाहेको चर्चा बाहिर आएको थियो ।

संसद सचिवालयले यही पुस ११ गते शुक्रबार दिउँसो १ बजे सं‌सदको अर्को बैठकमा सभामुख-उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलहरुको सहमतिमै सोही दिन सभामुख-उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयले तयारी गरेको हो । सभामुखमा उम्मेदवारी दिनुअघि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुपर्नेछ ।

अनुभवी, शालीन र समन्वयकारी भूमिका निभाउन सक्ने नेता भएको भन्दै प्रधानमन्त्री ओलीले नेम्वाङको नाम अगाडि सारेका छन् । प्रधानमन्त्री ओली कार्यपालिकामा रणनीतिक रुपमा सहयोग गर्नसक्ने र संसदका प्रक्रियामा प्रतिपक्षीलाई विश्वासमा ल्याउन वा रणनीतिक रुपमा तल पार्नसक्ने व्यक्तिलाई सभामुख बनाउने अडानमा छन् । अबको संसद झनै पेचिलो हुने र सबैलाई मिलाउन सक्ने तथा निर्णायक बेलामा आफूलाई सहयोग गर्ने सभामुख ओलीले चाहेका छन् । संसद संचालन गर्नका लागि प्रधानमन्त्री ओलीले आफूलाई अनुकूल हुने पात्र नेम्वाङ नै देखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब २ घण्टाको छलफलमा सभामुख र उपसभामुख चयनबारे लगभग सहमति भएको जनाइएको छ । तर, अबको सभामुख सुवास नेम्वाङ हुने पक्कापक्की रहेको जनाइएको छ । दुई अध्यक्षबीच नेम्बाङलाई नै सभामुख बनाउनेमा समहत भएको नेकपाका एक नेताले बताए । तर, उनले प्रधानमन्त्री ओलीको प्रस्तावलाई समेत मान्ने भएका छन् । त्यसैले पनि अबको सभामुख नेम्बाङ नै हुने विश्वास गरिएको छ ।

यो पनि पढ्नुहोस्

नेकपामा नयाँ सभामुखको बहस : नेम्वाङ कि सापकोटा ?

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा, को-को बन्दैछन् नयाँ सभामुख र उपसभामुख ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !