७ बैशाख २०८१, शुक्रबार

नेकपा नेताहरुलाई शीतल निवास बोलाएर राष्ट्रपतिले छलफल गरेपछि नेकपामा विवाद


शीलत निवास

५ पुस, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बसिरहेको समयमा नेकपाको स्थायी कमिटी नेताहरुलाई शीलत निवास बोलाएर छलफल गरेकी छिन् । संवैधानिक राष्ट्रपतिले सक्रिय भूमिका निर्वाह गरेको भन्दै आलोचना भइरहेको बेला सत्तारुढ दलको बैठकमा सहभागी हुनुपर्ने नेताहरुलाई भण्डारीले शीतल निवासमा बोलाएकी हुन् ।

राष्ट्रपति भण्डारीले बोलाएको भन्दै नेकपाका नेताहरु शंकर पोखरेल, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, देव गुरुङ, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, डा युवराज खतिवडा, शक्ति वस्नेत, वर्षमान पुन, घनश्याम भुसाल, विष्णु रिमाल शीतल निवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीले नेकपाको स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमाथि पनि चासो राखेकी थिइन् । राष्ट्रपति भण्डारीले राजनीतिक प्रतिवदेनमा समेटिएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे पनि चासो व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए ।

शनिवार नेकपाको बैठक शुरु भएको करिब १ घन्टापछि शीतलनिवास पुगेका नेताहरु पार्टी कार्यालय धुम्बाराही फर्किएका थिए । एकैपटक धेरै नेताहरु बैठकमा प्रवेश गरेपछि पार्टी अध्यक्ष प्रचण्डले यसबारे प्रश्न गरेका थिए । प्रचण्डले प्रश्न गरेसँगै राष्ट्रपतिसँगको भेटका लागि शीतल निवास पुगेका नेता प्रदीप ज्ञवालीले राष्ट्रपतिसँगको भेट पूर्व निर्धारित भएको र केही समय ढिला भएको बैठकमा जानकारी गराएका थिए ।

उनले यस्तो जानकारी गराउनासाथ स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रपतिको भेटघाटबारे बहस गर्नुपर्ने बताएका थिए । तर ज्ञवालीले राष्ट्रपतिको विषयमा पार्टी बैठकमा बहस गर्नुको कुनै अर्थ नुहुने बताए । उनले यसो भन्नसाथ भीम रावलसहितका अन्य नेताले राष्ट्रपति संविधान भन्दा माथि हो भन्दै प्रश्न गरेका थिए ।

नेताहरु विवादमा उत्रिएपछि पार्टी अध्यक्ष प्रचण्डले उक्त विषयमा बहस नगरी अन्य विषयमा केन्द्रित हुन नेताहरुलाई आग्रह गरेका थिए । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक रुपमा सक्रिय हुन खोजेको आरोप लागिरहेको छ । भण्डारीले भने नेकपा भित्रको राजनीति, मन्त्री हेरफेरमा समेत भूमिका खेलेको भन्दै नेकपा भित्रैबाट आलोचना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !