१२ बैशाख २०८१, बुधबार

सभामुख चयनमा राष्ट्रपतिको चासो : शिवमायाकै पनि सम्भावना


विद्यादेवी भण्डारी र शिवमाया तुम्बाहाङ्फे

मंसीर २६, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् । सभामुखको टुंगो नलाग्दै संसद बैठक आह्वान गरेपछि सत्तारुढ नेकपालाई छिटो सभामुखको टुंगो लगाउनुपर्न दबाब पनि बढेको छ । पुस ४ गते हुने संसदको पाँचौं अधिवेशनमा पहिलो कार्यसूची नै नयाँ सभामुख चयन रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखका लागि पूर्वसभामुख एवं नेकपाका संसदीय दलका उप-नेता सुवासचन्द्र नेम्वाङ र पार्टी अध्यक्ष पुष्पकमल दाहालले पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई अगाडि सारेका छन् भने राष्ट्रपतिले उपसभामुख शिवमाया तुम्बाहाङ्फे रोजेकी छन् । नेकपाको सचिवालयका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित भएको बेला राष्ट्रपतिको चाहनाले असर पर्ने देखिन्छ ।

भावी सभामुख चयनको विषयमा नेकपाभित्र दुई अध्यक्षका उम्मेदवार देखिएपनि तेस्रो उम्मेदवारको पनि दाबी बलियो बन्दै गएको छ । संसदको हिउँदे अधिवेशन नजिकिँदै गर्दा सभामुख चयनको विषयमा ध्यान केन्द्रित पनि भएको हो । नेम्वाङ र सापकोटामध्ये एक सभामुख बन्ने अनुमान गरिएकोमा उपसभामुख शिवमायालाई राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन छ ।

नेकपाभित्रको शक्ति बाँडफाँड र मन्त्रीपरिषद पुनर्गठनमा राष्ट्रपति भण्डारीले चासो राख्दै आएको भनेर बाहिर आलोचना हुँदै आएको छ । मन्त्रीमण्डल पुनर्गठनमा राष्ट्रपतिले चासो र केहि हस्तक्षेप गरेकोले राम्रो काम गर्न नसकेका र मन्त्री पद धरापमा रहेका केहि मन्त्रीको पद जोगिएको राजनीतिक विश्लेषकहरु बताउछन् । राष्ट्रपति निकट मानिने नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार सभामुखमा राष्ट्रपति भण्डारीले चासो राखेकी छन् । उनले महिला र आफू निकट रहेको भन्दै उपसभामुख तुम्बाहाङ्फेको नाम अगाडि सारेकी हुन् ।

अनुभवी, शालीन र समन्वयकारी भूमिका निभाउन सक्ने नेता भएको भन्दै प्रधानमन्त्री ओलीले नेम्वाङको नाम अगाडि सारेका छन् । प्रधानमन्त्री ओली कार्यपालिकामा रणनीतिक रुपमा सहयोग गर्नसक्ने र संसदका प्रक्रियामा प्रतिपक्षीलाई विश्वासमा ल्याउन वा रणनीतिक रुपमा तल पार्नसक्ने व्यक्तिलाई सभामुख बनाउने अडानमा छन् । अबको संसद झनै पेचिलो हुने र सबैलाई मिलाउन सक्ने तथा निर्णायक बेलामा आफूलाई सहयोग गर्ने सभामुख ओलीले चाहेका छन् । संसद संचालन गर्नका लागि प्रधानमन्त्री ओलीले आफूलाई अनुकूल हुने पात्र नेम्वाङ नै देखेका छन् ।

सापकोटालाई सभामुख बनाउनुपर्ने दबाब र घेराबन्दीमा अर्का अध्यक्ष प्रचण्ड पनि छन् । सापकोटा प्रचण्ड निकट नेतामात्र होइन पूर्वमाओवादीका दोस्रो तहका नेताहरुमध्ये अहिले राजकीय जिम्मेवारीमा नरहेकाले पनि उनको पक्षमा दह्रो अडानका साथ उभिन प्रचण्डमाथि नेताहरुको दबाब छ । उता पार्टी एकतापूर्वको शक्ति बाँडफाडकै आधारमा सभामुख पद पूर्व माओवादी समूहले पाउनुपर्ने दाबी र अडानमा दाहाल छन् । दाहालले पनि नेता सापकोटालाई सभामुखका लागि अगाडि सारेका छन् ।

पूर्व माओवादीका अनुसार दाहालले आफू निकट नेतासँग सापकोटालाई नै सभामुख बनाउँदा पार्टीभित्रको शक्ति सन्तुलन नबिग्रने र यसले सम्रग नेकपालाई फाइदा गर्ने बताउँदै आएका छन् । दाहालले मंसिर ४ गतेको सचिवालयको निर्णय अनुसार नेकपामा कार्यकारी अध्यक्षको भूमिका पाएका छन् । त्यसैले सभामुख आफैंले प्रस्ताव गरेको व्यक्ति होस् भन्ने दाहालको बुझाई रहेको छ ।

नेकपामा सभामुखका लागि अहिले त्रिपक्षीय शक्ति संघर्ष देखा परेको छ । तर पनि सभामुखको विषय दुई अध्यक्षले ‘वानटू वान’ वार्ता गरेर टुंगाउने सम्भावना देखिन्छ । महराको राजीनामापछि खाली सभामुख आफ्नो समूहले पाउनुपर्ने दाबी तत्कालीन माओवादी समूहको छ । तत्कालीन एमाले समूहले पार्टी एकीकरण भइसकेको अवस्थामा पूर्व सहमति खोज्न नहुने तर्क अगाडि सारेको छ ।

तुम्बाहाङ्फेले पनि आफूले अवसर पाए सभामुखको हैसियतमा भूमिका निर्वाह गर्नसक्ने बताउँदै आएकी छन् । शिवमायाको दाबी भावी सभामुखका लागि भएपनि ओली र प्रचण्ड दोस्रो व्यक्तिलाई सभामुख बनाउन चाहने भएकाले तुम्बाहाङ्फेलाई अरू कुनै जिम्मेवारी दिएर मनाउने प्रयासमा लागेका छन् । त्यसबारेमा शिवमायालाई समेत बोलाएर मनाउने प्रयास जारी रहेको बुझिएको छ । अर्को जिम्मेवारीको निश्चित भएपछि मात्रै शिवमायाले उपसभामुख पदबाट राजीनामा गर्ने सोच बनाएकी आफू निकटकाहरुलाई साउती गर्ने गरेकी सूत्रहरु बताउछन् ।

सभामुखमा शिवमायाको दावेदारी कायमै रहँदा र त्यसलाई ‘अनुपयुक्त’ भनिहाल्ने कुनै आधार पनि नरहेको पृष्ठभूमिमा त्यस सवालमा के गर्ने भन्नेबारे टुंगो लगाउनका लागि दुई अध्यक्षबीच गृहकार्य भइरहेको बुझिएको छ । दुई अध्यक्षले शिवमायाका लागि उपयुक्त विकल्प दिन नसकेको खण्डमा अन्तिममा राष्ट्रपति भण्डारीले महिला र आफू निकट रहेको भन्दै उपसभामुख तुम्बाहाङ्फेको नाम अगाडि सारेकोले गर्दा नेकपाले शिवमायालाई नै सभामुखका लागि उम्मेदवार बनाउने सम्भावना प्रवल भएकोले गर्दा सुवास नेम्वाङ, अग्नि सापकोटा सभामुखका लागि सभामुखको पद ‘आकाशको फल आँखा तरी मर’ बन्ने सम्भावना पनि देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !