१३ बैशाख २०८१, बिहिबार

सी चिनफिङको निम्तोमा प्रचण्ड नेकपाका ६० सदस्यीय टोलीसहित चीन जाँदै


सी चिनफिङको निम्तोमा प्रचण्ड

मंसीर १४, काठमाडौं । सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली आगामी २४ गते चीन जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदान-प्रदान गर्ने सहमति अनुसार नेकपाको टोली चीन जान लागेको नेताहरूले बताएका छन् ।

दुई महिनाअघि चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले काठमाडौंमा सी विचारधाराबारे छलफल गरेका थिए। त्यस क्रममा दई कम्युनिष्ट पार्टीबीच भाईचाराको सम्बन्ध स्थापना गर्ने सहमति भएको थियो । १० दिने भ्रमण टोलीको समन्वय नेकपा स्कुल विभागले गरिरहेको छ । अध्यक्ष दाहाल भने तीन दिन बसेर फर्कनेछन् । विभागका सहइन्चार्ज वेदुराम भुसालका अनुसार अध्यक्ष दाहाल नेतृत्वको टोलीमा स्थायी समिति सदस्य भीम रावल, टोपबहादुर रायमाझी सहित १० जना हुनेछन् । चीन जाने टोलीमा रघुजी पन्त, प्रेम आले, यज्ञराज सुनुवार, भानुभक्त जोशीलगायत छन् ।

नेपाल-चीन पत्रकार फोरमद्वारा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपाको टोली चीन जान लागेको जानकारी दिए । भ्रमणले चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सहमति कार्यान्वयनमा सहयोग पुग्ने विश्वास दाहालले व्यक्त गरे । चिनियाँ राष्ट्रपति सीसँग आफूले आठ पटक भेटिसकेकाले जनस्तरसम्म सम्बन्ध बनेको दाहालको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !