१३ बैशाख २०८१, बिहिबार

कांग्रेसमा विवाद थप चर्कंदै


Congress-Party-Office

११ कात्तिक, काठमाडौं । आन्तरिक मुद्दालाई लिएर कांग्रेसमा विवाद चर्कंदै गएको छ । भ्रातृ संस्था तरुण दलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्थापन र संस्थापनइतर पक्षीय नेताहरूको विवाद सतहमा देखिएको छ ।

दलको स्थापना दिवसको अवसरमा आइतबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिए भने एक पक्षको कार्यक्रममा अर्को पक्षका नेताहरू सहभागी भएनन् । दलका अध्यक्ष जितजंग बस्नेतले पार्टी केन्द्रीय कार्यालय सानेपामा र महासचिवबाट निष्कासित भूपेन्द्रजंग शाहीले सामाखुसीको एक पार्टी प्यालेसमा एउटै समयमा चियापान राखेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका इतरपक्षीय अधिकांश नेता दुवैतर्फका कार्यक्रममा सहभागी भएनन् । अध्यक्ष बस्नेतले आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र वरिष्ठ नेता पौडेल विशिष्ट अतिथिका रूपमा आमन्त्रित थिए ।

दुवै नेता आउने प्रचारसमेत भएको थियो तर देउवाका अतिरिक्त उपसभापतिद्वय विजय गच्छदार, विमलेन्द्र निधि, सहमहामन्त्री प्रकाशरण महतसहितका संस्थापनपक्षीय नेताको बाहुल्य थियो ।
संस्थापन इतरपक्षमा रहेका केन्द्रीय सदस्य धनराज गुरुङ र शिव हुमागाईंबाहेक संस्थापन इतरपक्षीय नेताहरू कोही पनि सानेपाको चियापानमा उपस्थित भएनन् । शाहीले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य रामशरण महत प्रमुख अतिथि थिए ।
महाधिवेशनको तयारी, भ्रातृ संस्थाका अधिवेशन, विभाग, केन्द्रीय कार्यसम्पादन समिति, नेविसंघको पुनर्गठन र तरुण दलको विवादलगायत विषयमा पार्टीभित्र संस्थापन र इतरपक्षबीच विवाद बढ्दै गएको छ । पछिल्लोपटक देउवाले १७ वटा विभाग गठन गर्ने प्रस्ताव गरेपछि पौडेल पक्ष चिढिएको छ । कार्यकाल सकिन तीन महिना बाँकी छँदा देउवाले विभागको संख्या बढाउन खोजेपछि गत बिहीबार केन्द्रीय कार्यसमिति बैठकसमेत बस्न सकेको थिएन ।
आसन्न महाधिवेशनलाई आफ्नो पक्षमा प्रभावित बनाउन सभापति देउवाले पार्टी सत्ताको दुरुपयोग गर्न थालेको आरोप पौडेल पक्षको छ ।कान्तिपुर दैनिकमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !