१२ बैशाख २०८१, बुधबार

नेकपामा ओली–दाहाल खट्पट, यस्ता विषयमा छैन एकरुपता


५ कात्तिक, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ । पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओलीले अनिच्छा देखाएपछि दुई अध्यक्षबीच विवाद देखा परेको हो ।

‘असमझदारी केही बढ्न थालेको छ, प्रधानमन्त्रीमा विगतका सहमति/समझदारीमा अडिने सवालमा केही समस्या देखा पर्न थालेको छ,’ दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले सोमबार भने, ‘पार्टीमा देखा पर्न थालेको असमझदारीका विषयमा उहाँहरू (ओली(दाहाल) केही दिनयता छलफलमै हुनुहुन्छ ।’

ओली र दाहाल सोमबार बिहान र साँझ गरी दुईपटक बालुवाटारमा भेटवार्ता भएको थियो । आइतबार पनि यी दुई नेताले छलफल गरेका थिए । दुई नेताबीच कार्यकारी अधिकार, सभामुख चयन, चिनियाँ प्रस्ताव ‘बीआरआई’ (बेल्ट एन्ड रोड इनिसिएटिभ) र अमेरिकी रणनीति ‘इन्डो प्यासिफिक’ लाई बुझ्नेलगायतका विषयमा एकरुपता छैन । विवाद बढ्दै जाँदा अहिले एकले अर्काे नेताले दिएका अभिव्यक्तिका विषयमा खण्डन गर्ने र तिखो आलोचनामा उत्रने समेत गर्न थालेका छन् । ओलीका अभिव्यक्तिमा दाहालले र दाहालका अभिव्यक्तिमा ओलीले टिप्पणी गर्न थालेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !