१३ बैशाख २०८१, बिहिबार

सांसदले उठाएका विषयलाई गम्भीर रुपमा लिइएन : खाँण


काठमाडौँ, २२ असार । संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सांसदले उठाएका विषयलाई सरकारले गम्भीररूपमा नलिएको भनी आपत्ति जनाउनुभएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले उठेर विरोध जनाएपछि बोल्न समय पाउनुभएका सांसद खाँणले व्यवस्थापिकामा दलका प्रतिनिधिले बोलेका कुरालाई कार्यपालिकाले गम्भीरताका साथ नलिएको र सभामुखले गरेको रुलिङलाई बेवास्ता गरेको बताउनुभयो ।

उहाँले हालै सर्लाहीमा कुमार पौडेललाई अशक्त बनाएर र हात भाँचेर गोली हानी हत्या गरिएको आरोप लगाउँदै भन्नुभयो, “गैरकानूनी काम गरे कानूनी कारवाही गर्ने अधिकार सरकारलाई छ तर मानवअधिकार विपरीत सरकारबाट नियन्त्रणमा लिइसकेको मानिसलाई पनि निर्मम तरीकाले हत्या भएको छ”, उहाँले भन्नुभयो ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा गैरकानूनीरूपमा नदी उत्खनन् भइरहेको र वातावरणीय सन्तुलन बिगारिएको बताउँदै उहाँले नदी उत्खनन् भएको स्थानमा १२ वर्षीय अमित यादव डुबेर मृत्यु भएको घटनामा गृहमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने बताउनुभयो ।

विषादीयुक्त तरकारी खुला

सांसद खाँणले अखाद्य पदार्थलाई बिक्री वितरणमा रोक लगाउन गरेको सरकारको निर्णय केही दिन पनि नटिक्नुको कारण के हो भनी सम्बन्धित मन्त्रीसँग जवाफ माग गर्नुभयो । “अखाद्य तरकारी रोक लगाउने सरकारले गरेको निर्णयको हामीले स्वागत ग¥यौँ तर सकारले घुँडा टेकेको छ, सरकार लम्पसार परेको छ, खाद्य सुरक्षासम्बन्धी हक, जीवन रक्षा गर्न पाउने अधिकारको रक्षा होस्, हिजो किन रोकियो, परीक्षण नगरी किन फेरि सहजतापूर्वक खोलियो, यो गम्भीर विषय भएकाले तत्काल सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ”, उहाँले भन्नुभयो । संविधान प्रतिकूल अघि बढाइएका सबै विधेयक फिर्ता लिन पनि प्रमुख प्रतिपक्षी दलले सरकारको ध्यानाकर्षण गराएको छ ।

सर्लाही घटनामा छानबिन आयोग गठन माग

सांसद प्रमोद साहले मानिसलाई समाती हात गोडा बाँधेर गोली हान्ने घटना भएको बताउनुभयो । यही असार १४ गते सर्लाही क्षेत्र नं. १ स्थित बाँके खोलामा परी जीवन गुमाएका बालकको डोरी ल्याएर निकाल्नू भनी जिल्लाका प्रहरी प्रमुख पाँच मिनेटमा हिँडेको घटना आपत्तिजनक छ भन्नुभयो ।

सांसद साहले बाँके खोलामा पाँच क्रसर यन्त्र राखी वातावरणीय अध्ययन नगरी प्रहरी प्रशासनको मिलेमतोमा अवैधरूपमा बालुवा, गिटीलगायत नदीजन्य सामग्री उत्खनन् भइरहेको बताउनुभयो । अवैधरूपमा भइरहेको कामले बनेको खाडल पानी र बालुवाले पुरिए पनि बालक खेल्दै जाने क्रममा डुबेर मरेको घटनामा प्रहरी प्रशासनको गैरजिम्मेवारीको सीमा नाघेको यो घटनाबाट देखिएको सांसद साहले तर्क दिनुभयो । । प्रहरीका उच्च अधिकारीलाई यस विषयमा जानकारी गराउँदा तल्लो तहका कर्मचारीलाई फोन उठाउन लगाएको उहाँले बताउनुभयो ।

न्याय माग्न शव लिएर राजमार्ग पुगेका स्थानीयवासीमाथि पालभित्र छिरेर लाठीचार्ज गरी दमन गरिएको बताउँदै उहाँले यस सम्बन्धमा आयोग गठन गरेर छानबिन गर्न माग गर्नुभयो । संविधान विपरीत आएका विधेयक फिर्ता लिन, विषादीयुक्त तरकारीको आयात रोक्न, पूर्वन्यायाधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभयो । गृहमन्त्रीको जवाफ नआएसम्म संसद्मा उभिएर विरोध गरिने चेतावनी उहाँले दिनुभयो । यस विषयमा सभामुख महराले संसद्को अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !