१२ बैशाख २०८१, बुधबार

डा. महत र म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री भेटवार्ता


prakash

काठमाडौँ, २२ असार । पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र म्यान्मारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री यु क्या तीनबीच आज म्यानमारको याङ्गुनमा भेटवार्ता भएको छ । उहाँहरुबीच दुई देशबीचको आपसी हित र सम्बन्धका साथै द्विपक्षीय सहयोग आदानप्रदानका विविध क्षेत्रका बारेका कुराकानी भएको थियो ।

नेपाल र म्यान्मारबीच सांस्कृतिक, धार्मिकलगायतका धेरै क्षेत्रमा समानता रहेको विषयमा उहाँहरुबीच कुराकानी भएको डा महतले बताउनुभयो ।

म्यान्मारमा ठूलो सङ्ख्यामा नेपालीभाषी नागरिकहरु बस्ने भएकाले नेपाली संस्कृति, परम्पराका साथै धेरै कुराहरुको आदानप्रदान र समानता रहेकाले दुई देशबीच मित्रवत् सम्बन्ध रहेको सो अवसरमा चर्चा गरिएको थियो ।

भगवान गौतम बुद्धको जन्मस्थल नेपालप्रति म्यान्मारका बौद्धमार्गी तथा सबै नागरिकको ठूलो आस्था र श्रद्धा रहेको आफूले पाएको जानकारी डा महतले दिनुभयो । उहाँहरुबीच द्विपक्षीय सहयोगको आदानप्रदानका साथै आगामी दिनमा सहयोगका धेरै क्षेत्रमा सहकार्य हुनसक्ने बारेमा पनि कुराकानी भएको थियो ।

सो भेटवार्तापछि यांगुनमा आयोजित गैरआवासीय नेपाली सङ्घको एशिया तथा प्रशान्त क्षेत्रको सातौँ बैठकको उहाँहरुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

आजदेखि यांगुनमा शुरु भएको गैरआवासीय नेपाली सङ्घको एशिया तथा प्यासिफिक क्षेत्रीय सातौँ बैठक दुई दिन चल्ने छ । उक्त बैठकमा एशिया तथा प्रशान्त क्षेत्रका गैरआवासीय नेपाली सङ्घका नेता तथा प्रतिनिधिको सहभागिता छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !