७ बैशाख २०८१, शुक्रबार

सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति


Sher-Bahadur-Deuba-2

काठमाडौँ, ४ असार । प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले हिजोको सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो, “मैले विसं २०४८ देखि निरन्तर संसद्मा प्रतिनिधित्व गरेको छु । यस्ता घटना कहिल्यै भएको थिएन ।”

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासँग समय मागेर उहाँले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रजातन्त्र र लोकतन्त्रविरोधी रहेको उल्लेख गर्दै यसले संविधान प्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्नेछ भन्नुभयो ।

नेता देउवाले स्वतन्त्र र निष्पक्ष हुने मानवअधिकार आयोगलाई कमजोर पार्न विधेयक आएकामा आपत्ति जनाउँदै मानवअधिकार बिनाको प्रजातन्त्र कसरी सुदृढ हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्र र लोकतन्त्रविरोधी विधेयक सरकारले फिर्ता नलिए कडा आन्दोलनमा जान्छौँ ।”

राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समानुपातिक र समावेशी संविधानको आत्मालाई लोकसेवा आयोगको विज्ञापनले उडाएर लगेकामा दुःख लागेको छ भन्नुभयो । “सत्ता र प्रमुख प्रतिपक्षी दुवैलाई लोकतन्त्र चाहिन्छ । लोकतन्त्रको हत्या नगरौँ”, उहाँले भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !