७ बैशाख २०८१, शुक्रबार

समुन्नत समाज निर्माण गर्न पार्टी एकता : डा. भट्टराई


baburam

पोखरा, ३ जेठ । समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले समुन्नत समाजवाद निर्माणका लागि समाजवादी पार्टीको स्थापना गरिएको बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेशको तमुवान–मगरातद्वारा आज यहाँ आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा उहाँले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुका साथै सुशासनलाई टेकेर समृद्ध नेपालको जगमा समुन्नत समाजवादको निर्माण गर्ने पार्टीको लक्ष्य रहेको बताउनुभयो ।

दुवै पार्टी समाजवादी र लोकतान्त्रिक विचारधाराका रुपमा रहेकाले एक ठाउँमा आएर मुलुकलाई नयाँ विकल्प दिएको उल्लेख गर्दै उहाँले पार्टीलाई बुद्धिमतापूर्ण ढङ्गले प्रथम राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने उल्लेख गर्नुभयो ।

उहाँले मुलुकको भौगोलिक एकीकरण भए पनि अहिले पनि भाषिक तथा सांस्कृतिक विकास हुन नसकेकाले राष्ट्रिय र बाह्य एकताका लागि पार्टीले ठोस् रुपमा दायित्व निर्वाह गर्ने बताउनुभयो ।

सोही कार्यक्रममा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सामाजिक न्यायमा आधारित राज्य प्रणालीलाई अगाडि बढाउनमा यो एकताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नागरिक स्वतन्त्रता, लोकतन्त्रमा आधारित समानता, विभेद्को अन्त्य र मुलुकलाई समृद्ध बनाउने पार्टीको नीति रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सुशासन, समाजवाद, पहिचानसहितको सङ्घीयता र गरीबी अन्त्य गर्न दुई शक्ति एकीकृत भएको जानकारी गराउनुभयो ।

उहाँले हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्ने कार्य पार्टीले गरेकाले जातीय, धार्मिक, भाषीय र विभिन्न संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका साथै पहिचानसहितको सङ्घीयताका लागि एक्यबद्ध भएर लाग्ने उल्लेख गर्नुभयो । “विदेशीलाई नागरिकता दिनु हुन्न र नेपाली नागरिकको सन्तानलाई राज्यविहीन बनाउनु हुँदैन्”, समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका यादवले भन्नुभयो, “लैङ्गिक समानता, विभेद र गरीबीको अन्त्य गर्नु आवश्यक रहेको छ ।”

सो पार्टीका वरिष्ठ नेता अशोक राईले रहर र लहडमा पार्टी एकता नगरेको उल्लेख गर्दै राष्ट्रिय आवश्यकताका लागि दुई पार्टी मिलेर समाजवादी पार्टीको स्थापना गरेको बताउनुभयो । उहाँले असङ्ख्य चुनौतीको सामनाका लागि साङ्गठनीक रुपमा पार्टीलाई बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभयो ।

पार्टीका नेता देवीप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव गङ्गालाल श्रेष्ठ, उपमहासचिव प्रकाश अधिकारी, सचिव दुर्गा स्वारलगायतले हिमाल, पहाड र तराईको एकताका रुपमा पार्टीको स्थापना भएको धारणा व्यक्त गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !