१३ बैशाख २०८१, बिहिबार

वामपन्थी नेता अधिकारी उपचारका लागि काठमाडौँमा


Nepalpatra

चितवन, २९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुसयता यहाँको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो ।

अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि शनिबार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल लगिएको हो । अधिकारीको फोक्सो र मुटुको बीच भागमा सेकाउनुपर्ने भएकाले यहाँका चिकित्सकको परामर्शमा त्यहाँ लगिएको हो ।

विसं २०१२ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मनुभएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो । जनयुद्धका समयमा उहाँको टाउकाको मूल्य रु २५ लाख तोकिएको छोरा नारायणले बताउनुभयो । माओवादी पार्टी विभाजनसँगै उहाँ वैद्य नेतृत्वको पार्टीमा लाग्नुभएको थियो । अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतले अस्पतालमै आएर स्वास्थ्यलाभको कामनासहित सहयोगको आश्वासन दिनुभएको थियो ।

परिवारका सबै सदस्य राजनीतिमा पूर्णकालीन रुपमा लागेकाले हाल उपचारमा समेत आर्थिक समस्या भएको बहिनी शान्ता अधिकारीले जानकारी दिनुभयो । सरकारले सहयोगको आश्वासन दिए पनि हालसम्म प्राप्त नभएको र प्रक्रियामा रहेको जानकारी पाएको उहाँले बताउनुभयो । अधिकारीका छोरा नारायण पार्टीको गोर्खा जिल्ला इन्चार्ज हुनुहुन्छ भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !