४ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभाको बैठक सञ्चालनका लागि प्रयास जारी


Ganesh Prasad Timilsina

१३ माघ, काठमाडौँ । राष्ट्रियसभाको सोमबारका लागि निर्धारित बैठक बिना अवरोध सञ्चालन गर्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयास जारी रहेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आज बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास भएको सङ्घीय सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिनुभयो ।

यही माघ ११ गते प्रतिनिधिसभा बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक पारित भएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच केही दूरी बढेको देखिएको छ । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताल विघटन गर्न खोजेको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

राष्ट्रियसभाको सोमबार बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ टेबुल गरिने सम्भावित कार्यसूची छ । कार्यव्यवस्था परामर्श समिति बैठकमा सहमतिको प्रयास भए पनि सत्तापक्ष र प्रतिपक्षको अडान भने यथावत छ ।

आफ्ना माग सरकारबाट सुनुवाइ नभएको भन्दै अडान यथावत रहेको काङ्ग्रेसका सांसद बद्री पाण्डेले जानकारी दिनुभयो । सरकारले समस्या सुल्झाउने हो भने अझै ठाउँ रहेको उल्लेख गर्दै उहाँले हतारिएर प्रतिवेदन पेश नगर्न सत्तापक्षलाई आग्रह गरिएको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !