७ बैशाख २०८१, शुक्रबार

कानून र योजना निर्माण यो वर्षको मुख्य काम : मुख्यमन्त्री पोखरेल


shankar

१२ मङ्सिर, नारायणपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यो वर्ष आधारभूत कानून निर्माण र आवधिक योजना निर्माणको कामलाई महत्वपूर्ण कामको रूपमा अगाडि बढाएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले १५ वटा कानून पारित भइसकेको र त्यति नै मात्रामा नियम र कार्यविधि निर्माण भइरहेको बताउँदै अझै १५÷२० वटा कानून निर्माणको चरणमा रहेको उल्लेख गर्नुभयो ।

“योजनाबिना समृद्धि सम्भव छैन, पञ्चवर्षीय योजना निर्माणका लागि अहिले जिल्लागत रूपमा छलफल भइरहेको छ”, मुख्यमन्त्री पोखेरेलले भन्नुभयो, “यो काम पनि यो वर्षभित्रै सकिन्छ ।” प्रदेशले व्यवस्थित रूपमा योजना बनाएर काम गर्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकार जनताको आकाङ्क्षापूर्तिको विश्वास केन्द्र बन्दै गइरहेको तर भौतिक पूर्वाधार र कर्मचारीको अभाव भने कायमै रहेको उहाँको भनाइ थियो । उहाँले दुई हजार ८०० कर्मचारी केन्द्रले व्यवस्था गर्नुपर्नेमा अहिलेसम्म ७०० कर्मचारी पूर्ति भएको जानकारी दिनुभयो ।

निजी क्षेत्रमा काम गर्ने निकायलाई सुरक्षाको प्रत्याभूति दिने गरी अगाडि ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले नेपालीमा एउटा युगको शुरुआत गरेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !