८ बैशाख २०८१, शनिबार

कांग्रेस संसदीय दलको नेतामा देउवा भारी मतले विजयी


Sher-Bahadur-Deuba Sher-Bahadur-Deuba

चैत्र २४, २०७२- कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा समेत निर्वाचित भएका छन् । दलको नेताका लागि बुधबार भएको निर्वाचनमा देउवाले पौडेललाई ७२ मतको भारी अन्तरले पराजित गरे । देउवाले १ सय ३९ र पौडेलले ६७ मत ल्याएका थिए । कांग्रेसको कुल २ सय ७ मतमध्ये बिरामी अवस्थामा रहेका नरहरि आचार्यबाहेक सबैको मत परेको थियो । पार्टी छाडेको घोषणा गरेका सांसद सुरेन्द्र चौधरीले पनि मतदानमा भाग लिए ।

पहिलो संविधानसभा निर्वाचनपछि भएको दलको चुनावमा देउवालाई पराजित गरी संसदीय दलको नेता बनेका पौडेल यसपटक पराजित भए । दोस्रो संविधानसभापछि पनि देउवा तत्कालीन सभापति सुशील कोइरालासँग १६ मतको अन्तरले दलको नेतामा पराजित भएका थिए । कोइरालाको निधनपछि खाली रहेको दलको नेतामा बुधबार निर्वाचन भएको हो । तत्कालीन सभापति कोइरालाका विश्वासपात्र र निकट सदस्यहरूले समेत पौडेलको साथ छाडेपछि देउवाको जित सहज भएको हो । एक महिनाअघिको पार्टी सभापतिको निर्वाचनमा पनि पौडेल देउवासँग पराजित भएका थिए ।

पौडेलले आफू पराजित हुने निश्चित हुँदाहुँदै पनि आफ्नो समूहका नेता बनिराख्न दलको नेताका लागि उम्मेदवारी दिएका थिए । पौडेल पक्षकै कतिपय नेताहरूले भने हार्ने निश्चित हुँदाहुँदै पौडेललाई उठाउन नहुने सुझाव दिएका थिए ।

सभापतिको दोस्रो चरणको निर्वाचनमा सघाएको तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला समूहले पनि दलको नेतामा देउवालाई मतदान गरेका थिए । मंगलबार आफ्नो कान्छी आमाको निधनबाट शोकमा रहेका सिटौला दलको नेताको निर्वाचनका लागि बुधबार बिहान झापाबाट आएका थिए । मतदान गरेलगत्तै उनी गृहनगर झापा नै फर्किए । खुट्टाको शल्यक्रिया गरेका नेता रामशरण महत मतदानस्थलमा उपस्थित भएर मात्रै फर्किएका थिए । उनको सट्टामा निजी सहयोगी रमेश महतले मतदान गरेका थिए ।

संसदीय कार्यसमितिको निर्वाचन भने शुक्रबार हुनेछ । त्यसका लागि बिहीबार नै मनोनयन हुँदैछ । यसअघि दलको नेताको मात्रै निर्वाचन भएको थियो । मनोनयन पत्र दर्ता गरेर मतदान गर्ने बेला समझदारी कायम गर्ने भन्दै संसदीय कार्यसमितिको निर्वाचन स्थगित भएको थियो । शुक्रबार हुने संसदीय कार्यसमितिको निर्वाचनमा पनि सभापति देउवा र पौडेल पक्षकै प्यानल बनाउने तयारी भएको छ ।

दलको नेतामा निर्वाचित भएपछि देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रियाका रूपमा लिन आग्रह गर्दै आफ्ना ‘समकालीन मित्र’ पौडेलसँगको सल्लाह र सुझावअनुसार अघि बढ्ने प्रतिक्रिया दिए । मतदान गरेर निवास फर्केका पौडेलले परिणामपछि देउवालाई टेलिफोनबाट बधाई दिएका थिए । उनले पार्टीमा सम्मानजनक एकता कायम गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

‘हामी विद्यार्थीकालदेखिकै साथी हौं । सँगै राजनीति थालेका हौं,’ देउवाले सञ्चारकर्मीसँगको प्रतिक्रियामा भने, ‘रामचन्द्रजीलाई सम्मान गर्दै साथ लिएर म काम गर्छु ।’ संसदीय दलको नेतामा निर्वाचित भएसँगै देउवालाई भावी प्रधानमन्त्रीका रूपमा हेर्न थालिएको छ ।

देउवाले मधेसका समस्याको समाधान गरेर संविधान कार्यान्वयन गर्ने कामको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए । त्यसका लागि सरकारको नेतृत्व लिने हो भन्ने प्रश्नमा देउवाले तीन पटक दोर्‍याउँदै भने, ‘यसको अर्थ सरकार हैन है ।’

पार्टीले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए । ‘बलियो प्रतिपक्ष भएन भने सरकार निरंकुश हुन्छ, निरंकुश हुन नदिन पनि कांग्रेसलाई बलियो प्रतिपक्ष बनाउँछौं, त्यहीअनुसारको भूमिका निर्वाह गर्छौं,’ देउवाले भने । राणाशासन, पञ्चायती व्यवस्था अन्त्य गर्नेदेखि संघीय गणतन्त्र ल्याउने कामको नेतृत्व कांग्रेसले गरेको बताउँदै देउवाले मधेसको समस्या समाधानका लागि आफूले आन्दोलनरत पक्षहरूसँग छलफल गर्ने बताए । भूकम्प पीडितहरूको उद्धार तथा राहतमा ढिलाइ भइरहेको प्रसंग उल्लेख गर्दै कांग्रेसले विपक्षी दलको हैसियतमा जनजीविकाका मुद्दालाई निरन्तर उठाउने बताए ।

न्यायालयमा राजनीतिक हस्तक्षेप हुन दिन्न
नेता देउवाले न्यायालयलाई राजनीतीकरण हुन नदिन आफू लाग्ने बताए । विपक्षी दलको नेताको हैसियतमा संवैधानिक परिषदका सदस्यसमेत हुन पुगेका देउवाले न्यायालयमा हालै न्यायाधीश नियुक्तिमा भएको विवादतर्फ संकेत गर्दै देउवाले राजनीतिक हस्तक्षेपको अन्त्य गर्न आफू लाग्ने बताएका हुन् । ‘न्यायालयभन्दा माथि कुनै ठाउँ छैन । यसलाई राजनीतिक हस्तक्षेप हुन नदिन म लाग्छु,’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !