१३ बैशाख २०८१, बिहिबार

नेताहरुबीच भागबण्डा मिलेपछि मध्यरातमा सुल्झियो नेविसंघको विवाद


nebisang_bhrikutimandap

काठमाडौं : भागबण्डामा सहमति भएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विवाद सुल्झिएको छ। सहमति भएसँगै पटक-पटक सर्दै आएको बन्दसत्र आज दिउँसोबाट सुरु हुने संकेत देखिएको छ।

रामचन्द्र पौडेल समूहलाई ५० प्रतिशत र बाँकी ५० प्रतिशतमा सिटौला र देउवा समूहलाई भाग मिलाउने गरी सहमति भएपछि ११ जिल्लाको विवाद समेत मिलेको हो।

आइतबार राति १० बजे देखि बैठक बसेको निर्देशक समिति संयुक्त र छुट्टाछुट्टै बैठक गर्दै बुधबार बिहान ४ बजे मात्र विवाद मिलाउन सफल भएको हो।

६० प्रतिशतको अडान लिएको पौडेल पक्षले निर्विवाद भइसकेका क्षेत्रीय र क्याम्पस अधिवेशनलाई मान्यता दिएर विवादित एकाइमा मात्र प्रतिनिधि भागबण्डा गर्ने सहमति भएपछि ५० प्रतिशतलाई स्वीकार गरेको हो।

नेताहरुबीच कुरा मिलेसँगै अब अनसन बसेकाहरुलाई अनसन तोडाउने, तीन वटै समूहले आ-आफ्ना समूहका प्रतिनिधि छनौट गरी सिफारिस गर्ने, उनीहरुको नामावली प्रकाशित गर्ने र सबै प्रतिनिधिलाई परिचयपत्र वितरण गरी बन्दसत्रमा सहभागी गराउने कार्यक्रम छ।
आज १२ बजेदेखि बन्द सत्र सुरु हुने भए पनि केही ढिलाइ हुन सक्ने अनुमान गरिएको छ। ‘ठ्याक्कै १२ बजे बन्दसत्र सुरु गर्न त सकिन्छ सकिँदैन,’ नेविसंघका मुख्य सचिव शिव रिमालले भने, ‘तर अब विवाद मिलिसकेकाले चुनावी प्रक्रियासम्म पुग्ने भने निश्चित भएको छ।’

कसरी मिल्यो विवाद?
नेपाली कांग्रेसले गठन गरेको निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतले अधिवेशन गराउकै लागि आफू लचक भएकाले विवाद मिलाउन सम्भव भएको बताए।

‘रामचन्द्रजीको समूहले ६० प्रतिशत दाबी गरेको थियो, अधिवेशन हुनुपर्छ भनेरै उहाँहरुलाई करिब ५० प्रतिशत दिइएको छ,’ महतले भने, ‘सिटौला समूहलाई पनि पर्याप्त हिस्सा दिएर बरु हामीले नै थोरै हिस्सा लिएर मिलाउन सफल भएका छौं।’

विधि र प्रक्रियाको माग राखेर अनसन बसेका सिटौला समूहका दुई विद्यार्थी नेताहरु आइसियु नभएका कारण मोडल अस्पतालबाट ओम अस्पताल सारिएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !