६ बैशाख २०८१, बिहिबार

भारतको ‘चलखेल’प्रति पूर्व प्रधानमन्त्री ओलीको आपत्ति


kp oli and rnjeet ra

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफूसँग शिष्टाचार भेट गर्न पुगेका भारतीय राजदूत रञ्जित रेसँग हालै भएको सरकार परिवर्तनमा भारतीय भूमिकाप्रति असन्तुष्टि जनाएको एमालेले बताएको छ।

भेटपछि एमालेले जारी गरेको विज्ञप्तिमा ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने अस्वाभाविक चलखेल स्वीकार्य नहुनेमा जोड दिएको बताइएको छ।

ओलीको असन्तुष्टिको जवाफमा भारतीय राजदूत रेले भारतले सत्ता परिवर्तनमा खेल नखेलेको र नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप नगर्ने जवाफ दिएको पार्टी सचिव प्रदीप ज्ञवालीले बताएका छन्।

चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको केही दिनपछि भारतीय राजदूत रे निवर्तमान प्रधानमन्त्री केपी ओलीसँग भेट्न उनको पार्टी कार्यालयमा पुगेका थिए।
अस्वाभाविक चलखेल

भेटपछि एमालेले जारी गरेको प्रेस विज्ञप्तिमा भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।

विज्ञप्तिमा जनाइए अनुसार ओलीले रेलाई नेपालको आन्तरिक राजनीतिमा हुने कुनै पनि अस्वाभाविक चलखेलहरु स्वीकार्य नहुने र त्यस्ता चलखेलले परिस्थितिलाई जटिल बनाउने भएकाले सर्तकतासाथ काम गर्नुपर्नेमा जोड दिएको उल्लेख गरिएको छ।

एउटा कुरा के प्रष्ट हो भने नेपालमा भएको सरकार परिवर्तनलाई नयाँ दिल्ली, दिल्लीका कतिपय मिडियाहरु त्यहाँका तथाकथित थिङ्क ट्याङ्कहरुले जुन ढंगले व्याख्या गरे विश्लेषण गरे भारतको जितको रुपमा नेपालको राजनीतिमा भारतको कमब्याकको रुपमा त्यसले प्रश्नहरु उत्पन्न गर्छन् नि
प्रदीप ज्ञवाली, सचिव, नेकपा एमाले

अस्वाभाविक चलखेल भनेर यहाँको सरकार परिवर्तनमा भारतीय भूमिकालाई लक्षित गरिएको हो? भन्ने प्रश्नमा एमाले सचिव प्रदीप ज्ञवालीले भने, “एउटा कुरा के प्रष्ट हो भने नेपालमा भएको सरकार परिवर्तनलाई नयाँ दिल्ली, दिल्लीका कतिपय मिडियाहरु त्यहाँका तथाकथित ‘थिङ्क ट्याङ्क’हरुले जुन ढंगले व्याख्या गरे, विश्लेषण गरे भारतको जीतको रुपमा नेपालको राजनीतिमा भारतको ‘कमब्याक’को रुपमा। त्यसले प्रश्नहरु उत्पन्न गर्छन् नि।”

तिनै प्रश्नहरुलाई प्रष्ट पार्नु भारतीय राजदूत रेको भेटको उद्देश्य रहेको जस्तो देखिएको पार्टी सचिव ज्ञवालीले बताएका छन्।

उनी भन्छन्, “भारतमा मिडियाहरु स्वतन्त्र छन्। मिडियामा आएका विचारले भारत सरकारको प्रतिनिधित्व गर्छ भन्ने हिसाबमा नबुझिदिनुहुन “भन्ने उहाँले प्रष्ट पार्ने कोशिस गर्नुभो।
तीब्र असन्तुष्टि

दुइ महिना अघि पनि भारतीयहरुको चलखेलमा नेपालमा सरकार परिवर्तन हुनै लागेको र त्यतिबेला काठमाण्डूस्थित चिनियाँ दूतावास र तत्कालीन प्रधानमन्त्री ओलीको सक्रियतामा सरकार परिवर्तन प्रयत्न विफल भएको समाचार आएका थिए।

त्यसबेला भारतको गतिविधिप्रति तीब्र असन्तुष्टि प्रकट गर्दै सरकारले नेपाली राष्ट्रपतिको निर्धारित भारत भ्रमण रद्द गरेको थियो र भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको थियो।

नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप हुन्छ भनेर सबैखाले राजनीतिक दलका नेताहरुले आ-आफ्नो अनुभव औपचारिक या अनौपचारिक रुपमा सार्वजनिक गर्ने गरेका छन्।

तर तिनै नेताहरुले भारतको चलखेल रोक्नेमा भन्दा सत्तामा पुग्न प्रत्यक्ष या परोक्ष रुपमा भारतीय धाप खोज्ने गरेको भन्दै नेताहरुको कटु आलोचना पनि हुँदै आएको छ।

त्यस्तो विगतका माझ ओलीले देखाएका भनिएका अडान र अभिव्यक्तिले तीब्र बहस निम्त्याइदिएको पाइन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !