७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता आज, भोलि मतदान


BICC

काठमाडौँ, १८ साउन – प्रधानमन्त्रीको निर्वाचनका लागि भोलि (बुधबार) मतदान मिति तोकिएको अवस्थामा आज (मंगलबार) दलहरुको तर्फबाट उम्मेद्वारहरुको मनोनयन दर्ता गराइँदै छ ।

संसद सचिवालयले उम्मेद्वारी दर्ताका लागि मंगलबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्मको लागि समय तोकेको छ भने सो समयमा उम्मेद्वारी दर्ता गराएकाहरुको अन्तिम नामावली अपरान्ह साढे ४ बजे प्रकाशित गरिनेछ ।

बुधबार बिहान ११ बजे बस्ने संसद् बैठकमा सबै उम्मेद्वारले उम्मेद्वारी सुचना प्रस्तुत गरेपछि प्रस्ताव र समर्थकले समर्थन गर्ने , सबै उम्मेद्वारको सूचनामाथि सामुहिक रुपमा छलफल हुने र सबै उम्मेद्वारीलाई एकैसाथ निर्णायार्थ प्रस्तुत गरिनेछ ।

प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनबाट प्रचण्डको नाम अघि सारिएको छ भने एमालेबाट सुवासचन्द्र नेम्वाङको नाम चर्चामा छन् । यद्यपी एमालेको मंगलबार बस्ने संसदीय दलको बैठकले उम्मेद्वारीको टुंगो लगाउने बताइएको छ ।

प्रचण्डलाई कांग्रेसको बलियो समर्थन रहेकाले उनी नै प्रधनमन्त्रीमा निर्वाचित हुने लगभग पक्कापक्की छ ।

प्रधानमन्त्री निर्वाचित हुन संसदमा बहाल ५ सय ९५ को बहुमत अर्थात् २ सय ९८ भोट आवश्यक पर्छ ।

संसदमा नेपाली काँग्रेसका २ सय ७ र माओवादी केन्द्रका ८१ सांसद छन् ।

प्रधानमन्त्री निर्वाचित हुनको लागि थप १० भोट आवश्यक हुन्छ । फोरम लोकतान्त्रिकसँग १४ र राप्रपासँग १२ सांसद छन् ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अहिलेसम्म प्रचण्डको पक्षमा ३ सय ६० सांसदको समर्थन जुटिसकेको सोमबार लोकान्तरसँग दाबी गरे ।

राप्रपा नेपाल बाहेकका अन्य साना दलले समर्थनको संकेत जनाएको पनि उनले बताए ।

राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायतका पार्टीले प्रचण्डलाई भोट दिने बताइसकेका छन् । यस्तै मधेशी मोर्चामा आबद्ध दलले पनि प्रचण्डलाई मतदान गर्ने तयारी गरेका छन् ।

सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि बहुमतीय प्रक्रिया सुरु भएको हो ।

व्यवस्थापिका–संसद्को सोमबारको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनका लागि राष्ट्रपति कार्यालयबाट प्रक्रिया अघि बढाउनेसम्बन्धी प्राप्त पत्र पढेर सुनाएकी थिइन् भने सोलगत्तै प्रधनमन्त्री निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !