७ बैशाख २०८१, शुक्रबार

बाधा अड्काउ फुकाएर बहुमतको प्रधानमन्त्री चुन्न राष्ट्रपतिको आह्वान


Bidhya-Bhandari

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रधानमन्त्री चुनी सरकार गठनका लागि आह्वान गरेकी छिन्।

यसअघि बाधा अड्काउ फुकाएर संविधानको धारा २९८ (२) अनुसार सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले सात दिनको समय सीमा तोकी आह्वान गरेकी थिइन्। तर ‘सहमतिको सरकार गठन हुन नसकेकोले धारा ३०५ अनुसार जारी भएको बाधा अड्काउको आधारमा धारा २९८ को ३ अनुसार संसदमा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट सरकार गठनका लागि आह्वान गरिएको’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिको पत्र आजै व्यवस्थापिका संसद पुर्‍याइसकिएको छ। आज दिउँसो बस्ने संसदको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनााएपछि संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नेछिन्।

त्यसपछि सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएका छन्। प्रतिपक्षमा रहने निर्णय गरेको नेकपा (एमाले) ले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन।

सचिवालयले सम्भवत यही साउन १९ गते बुधबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !