१३ बैशाख २०८१, बिहिबार

दाहाल बुधबार प्रधानमन्त्री निर्वाचित हुने


prachanda

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आफूले दिएको समयको अन्तिम दिन प्रमुख चार राजनीतिक पार्टीका नेताहरूलाई भेटेर अब बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढाउने निर्णय सुनाएकी छन्।

उनले सोमबार बहुमतीय सरकार गठनका लागि आह्वान गर्नेछिन्। भोलि नै बस्ने संसद बैठकले संविधानका धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय आधारमा सरकार गठनका लागि संसद सचिवालयका महासचिवको संयोजकत्वमा प्रधानमन्त्रीको निर्वाचन समिति गठन गर्नेछ। उक्त समितिले सम्भवत साउन १८ गते मनोनयन दर्ता, नाम फिर्ता लिने र उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशित गर्नेछ। त्यसपछि १९ गते बुधबार बस्ने संसदको बैठकले मुलुकको ३९ औं प्रधानमन्त्रीको निर्वाचन गर्नेछ।

संसद्को प्रमुख पार्टी नेपाली कांग्रेस र तेस्रो पार्टी माओवादी केन्द्रबीच केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गर्ने सहमति भइसकेको छ। अन्य स-साना पार्टीहरुको पनि समर्थन रहेकोले पुष्पकमल दाहाल मुलुकको ३९औ प्रधानमन्त्री बन्ने लगभग पक्का छ।

कांग्रेस-एमाओवादी गठबन्धनको पक्षमा आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलका अतिरिक्त राप्रपा, नेकपा संयुक्त, अखण्ड नेपाल पार्टी, दलितजनजाति पार्टीसहितका झण्डै ३३५ सदस्यभन्दा बढीले समर्थन रहने नेताहरुको दावी छ।

नयाँ गठबन्धनको विपक्षमा रहेको दोस्रो ठूलो दल एमाले, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले र नेमकिपाले भने अहिलेसम्म आफ्नो पक्षबाट दाहालविरुद्ध उम्मेदवारी दिने/नदिने कुनै टुंगो लागिसकेको छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !