१२ बैशाख २०८१, बुधबार

कार्कीबारे प्रस्ताव अघि नबढाउन प्रचण्डद्वारा सभामुखलाई निर्देशन


prachanda and onsari gharti

माओवादी-केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीबारे संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि नबढाउन सभामुख ओनसरी घर्तीलाई निर्देशन दिएका छन्।

कांग्रेसका सांसद गगन थापाले गत साता संसदमा दर्ता गरेको उक्त प्रस्तावमाथि ‘कुनै कारबाही अघि नबढाउनू’ भन्ने दाहालको निर्देशनकै कारण सभामुख घर्तीले आलटाल गर्दै आएको माओवादी स्रोतले सेतोपाटीलाई जानकारी दियो।

‘लोकमानसम्बन्धी यो प्रस्ताव अघि नबढाउन हाम्रा अध्यक्ष मात्र हैन सबै पार्टीका शीर्षनेताहरु सहमत हुनुहुन्छ,’ स्रोतले भन्यो।

चिकित्सा क्षेत्रको भ्रष्टाचारमा अख्तियार प्रमुख कार्कीको संलग्नताको कुरा उठाउँदै डा. गोविन्द केसीले महाअभियोग लगाउन माग गरेको र काठमाडौं विश्वविधालयको प्रवेश परीक्षामा अख्तियारबाट भएका हस्तक्षेपको घटना सार्वजनिक भएकाले यस विषयमा छलफल गर्न कांग्रेस सांसद थापाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए। ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबारे सार्वजनिक रुपमा यति धेरै प्रश्न उठेपछि के देशको संसद मौन बस्न मिल्छ ?’ थापाको प्रश्न थियो।

उनको प्रस्तावमा कांग्रेसकै सांसद धनराज गुरुङ र एमाओवादी सांसद श्याम श्रेष्ठले समर्थन गरेका थिए।

‘हामीले आफ्नो प्रस्तावमाथि संसदमा छलफल गराउन सभामुखलाई बारम्बार भन्दै आएका छौँ। तर उहाँले छलफलका लागि कहिले प्रस्ताव पेस गर्छु भनेर भन्नुभएको छैन,’ प्रस्तावक सांसद थापाले मंगलबार सेतोपाटीसँग भने, ‘प्रस्तावमा छलफल गर्न संसदसँग अहिले पर्याप्त समय नभएको भन्ने हामीलाई लाग्दैन।’

माओवादी अध्यक्ष दाहालले सभामुख घर्तीलाई यो प्रस्ताव अघि नबढाउन निर्देशन मात्र दिएका छैनन्, यो प्रस्तावका समर्थक एमाओवादी सांसद श्याम श्रेष्ठलाई किन त्यो प्रस्तावमा सही गरेको भनेर सोध्नसमेत लगाएका छन्। उनले माओवादी-केन्द्रका नेता जितमान शाक्यलाई बिरामी भएर घरमा आराम गरिरहेका श्रेष्ठको घर पठाएर पार्टीको स्वीकृतिबिना प्रस्तावमा समर्थक बसेको भन्दै सचेत गराएका थिए।

श्रेष्ठ स्वतन्त्र २६ सांसदमा माओवादीद्वारा मनोनित हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !